गोलबजार । सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ औरहीस्थित सुन्दर जनता मा.वि.का विद्यार्थीहरु विज्ञान शिक्षक फेर्न माग गर्दै पछिल्लो दुई दिनदेखि कक्षा बहिष्कार गरी रिले अनसनमा बसेका छन् ।
करिब डेढ दशकदेखि करार सेवामा कार्यरत विज्ञान शिक्षक कपिलदेव यादवले पढाउने क्रममा विद्यार्थीलाई पटक पटक अभद्र व्यवहार गर्ने र पढाएको पनि केही नबुझिने भन्दै विद्यार्थीहरुले विद्यालय परिसरमा सोमबार बिहानदेखि थालेको अनसन मंगलबार अपरान्हसम्म जारी छ । विद्यार्थीहरुले आइतबार प्रधानाध्यापक विवेक यादवलाई सम्बोधन गर्दै विज्ञान शिक्षक यादवको अभद्र व्यवहार नसच्चिएको, पढाउँदा केही पनि नबुझिने भएकले अर्को शिक्षकको व्यवस्था गर्न माग गर्दै निवेदन दिएको कक्षा १० का विद्यार्थी अमरजित यादवले बताए ।
‘विगतमा पनि प्र.अ.मार्फत् विज्ञान शिक्षकलाई सचेत गराइएको थियो’ उनले भने ‘तापनि विद्यार्थीमाथि गर्ने अभद्र व्यवहार र शिक्षण सुधार नभएपछि बाध्य भएर कक्षा बहिष्कार गरी अनसनमा बसेका हौं ।’
औरही गाउँपालिका ४ का वडाध्यक्ष सुरेन्द्र प्रसाद यादवले वडा कार्यालयबाट गाउँमा चलाइएको निःशुुल्क कोचिङ् कक्षामा पढ्ने विद्यार्थीहरुलाई विद्यालयका शिक्षकहरुले कोचिङ् छोड्न पटक पटक दबाब दिने गरेकाले सहन नसकेर विद्यार्थीहरु अनसनमा बसको हुन सक्ने बताए । विज्ञान शिक्षकले विद्यार्थीलाई अभद्र व्यवहार र गालीगलौज गरेको पाइएपछि दुई पटक विद्यालय व्यवस्थापन समितिले त्यस्तो नगर्न चेतावनीसहित निर्णय गरेको उनले बताए । ‘त्यति हुँदा पनि आफूलाई नसुधारेपछि विद्यार्थीहरु आक्रोशित भएका हुन्’ उनले भने ।
विद्यालयका प्र.अ. विवेक यादवले अनसनको विषयमा गाउँपालिकासहित शिक्षक र आन्दोलनरत स्वयम् विद्यार्थीहरुसँग पनि छलफल गरिएको बताए । पढाई छोडेर विद्यार्थीहरु रिले अनसनमा बसेपछि विद्यालयमा कार्यरत मा.वि. तहका स्थायी दरबन्दी र नि.मा.वि. तहका अर्का गरी दुई जनामध्ये एक जना शिक्षकलाई विज्ञान विषयको जिम्मेबारी दिने तयारी भएपनि विद्यार्थीहरुले बाहिरबाट अर्को शिक्षक ल्याउन भनेपछि समस्या भएको उनले बताए ।