प्रदेश सांसद्सँग जनताको गुनासो


लहान । मधेश प्रदेश सभा सदस्यसँग सर्वसाधारणले खानेपानी, सडक, सिंचाइ, कृषि क्षेत्रको विकास र प्रदेश सांसद्को बजेटमा गरिएका विकास निर्माण सम्बन्धी कामको भुक्तानीमा बेवास्ता हुने गरेको गुनासो गरेका छन् ।

सिरहाको लहान नगरपालिका १५ ढोढनास्थित राजदेवी मन्दिर धर्मशालाको सभाकक्षमा बुधबार दिउँसो आयोजित कार्यक्रममा स्थानीय सर्वसाधारणले संघीयतापछि पनि विकास, पहिचानको सवालमा प्रदेशसभा र सदस्यहरुले आफूहरुमाथि विभेद गरिरहेको गुनासो गरे । मधेश प्रदेश सभा सचिवालयद्वारा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा नेपाल मधेश फाउण्डेशनको सहकार्यमा आयोजित ‘निरीक्षण÷पर्यवेक्षण र सार्वजनिक सुनुवाई अन्तर्गत विकास समितिसँग नागरिक तथा सरोकारवालाहरुबीच अन्तक्र्रिया कार्यक्रममा मधेश प्रदेश सभाको विकास समितिका प्रदेश सभा सदस्यहरु रामसरोज यादव, रत्नेश्वर लाल गोइत, राजेन्द्र प्रसाद चौधरी, शम्भुकुमार साह, मधेश प्रदेश सभा सचिवालयका सचिव रंजितकुमार यादव, उपसचिव अरुणकुमार झाको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी स्थानीय सर्वसाधारणले दुई १० वर्ष पुरानो इतिहास बोकेको राजदेवी पंचावती मन्दिरको पहिचानका लागि समेत प्रदेश सभाले भेद्भाव गरेको गुनासो गरे । ‘हरेक वर्षको चण्डी पूर्णिमामा नेपाल भारतसहितका विभिन्न ठाउँबाट आउने हजारौं श्रद्धालुहरुले पशु बली चढाउने राजदेवी मन्दिरको नाम समेत प्रदेश सरकारको धार्मिक पर्यटन क्षेत्रको रुपमा समावेश नगरिनु विभेद हो’ स्थानीय मिहीलाल चौधरीले भने ‘मन्दिरमा आउने श्रद्धालुका लागि स्वच्छ खानेपानी, सडक, कृषिमार्फत् जीविका चलाइरहेका स्थानीय सर्वसाधारणको विकासका लागि प्रदेश सरकारले ध्यान पनि दिएन ।’

लहान नगरको विकट क्षेत्र मानिने ढोढनाको समग्र विकासका लागि कृषिको व्यवसायीकरण, भरपर्दो सिंचाइको व्यवस्थासहित प्राङगारिक तथा जैविक मल उत्पादन र प्रयोगका जोड, बेरोजगार युवाहरुका लागि बैकल्पिक रोजगारीको व्यवस्था गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रमसँगै पर्याप्त बजेट र कार्यक्रम कार्यक्रम दिइनु पर्ने स्थानीय देवराज चौलागाईको माग थियो ।

कार्यक्रममा सर्वसाधारणले उठाएका सवालहरुको जवाफ दिंदै विकास समितिका सदस्य तथा पूर्व मन्त्री रामसरोज यादवले प्रदेश अन्तर्गतका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका धार्मिक पर्यटकीय क्षेत्रको पहिचान, त्यसको ऐतिहासिकताको खोजी गर्न प्रदेश सरकार चुकेको बताए । ‘त्यस्ता ठाउँहरुको खोजी र यकिन गरी स्थानीय, प्रदेश तथा संघीय सरकारको योजना र प्राथमिकता निर्धारणसहित एकीकृत प्रयासमा मात्र विकास हुन सक्छ’ उनले भने । संघीयताको प्रारम्भिक अभ्यासको चरणमा रहेकाले केही कमजोरी भएको औंल्याउँदै उनले भने ‘आगामी दिनमा यो क्षेत्रको विकासका लागि प्रदेशसभामा विकास समितिमार्फत् प्रयास गर्छौं ।’ प्रदेश स्तरको पर्यटन विकास सम्बन्धी विधेयक प्रदेश सभामा प्रस्तुत भएपछि राजदेवी मन्दिरलाई समेत प्रदेशको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समावेश गरिने उनको प्रतिबद्धता थियो । IMG_7882

प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले खानेपानी, सडक, बिजुली जस्ता आधारभूत सेवाबाट समेत बञ्चित लहान १५ को बेतहा खोला क्षेत्रको विकासका लागि आफूले अधिकतम् प्रयास गरिरहेको जानकारी दिए । ‘कृषिको व्यवसायीकरण र स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्न तीन तहकै सरकारले आवश्यक सहयोगसहित वातावरण बनाइ दिनुपर्छ’ उनले भने ।

अर्का प्रदेशसभा सदस्य रत्नेश्वरलाल गोइतले सधैंभरी समस्याको रुपमा रहने रसायनिक मलको बिकल्पमा जैविक, कम्पोष्ट र प्राङ्गारिक मलको उत्पादनका लागि नीति तथा कार्यक्रम, बजेट विनियोजन गर्न प्रदेश सभाले प्रयास गरिरहेको दावी गर्दै भने ‘प्रदेश सरकारको यो पटको योजना र बजेटमा पनि कृषिको विकास प्राथमिकतामा परेको छ ।’ प्रदेश सभा सदस्य शम्भुकुमार साहले पूर्व पश्चिम लोकमार्गदेखि दक्षिण र उत्तरतिर तीन खालको मधेश रहेको चर्चा गर्दै त्यो क्षेत्रको विकासका लागि तीन तहकै सरकारको संस्थागत प्रयास हुनुपर्ने औंल्याए ।

कार्यक्रममा युएनडिपीका बिटु श्रीवास्तवले आफ्नै गाउँघरमा आएका प्रदेश सभा सदस्यहरुस्ँग स्थानीय नागरिकले राखेका समस्या समाधान गर्न प्रदेश सभा सदस्यहरुले गम्भिरतापूर्वक  लिनुपर्ने बताए । फाउण्डेशनका कार्यक्रम प्रबन्धक कृष्णकुमार साहले सर्वसाधारणले राखेका स्थानीय आवश्यकतामा आधारित योजनाको सवाल सम्बोधनका लागि प्रदेशसभा सदस्यहरुलाई जवाफदेही बनाउन आफूहरुले सहजीकरण गरिरहेको बताए । राजदेवी पंचावती मन्दिर संरक्षण विकास समितिका अध्यक्ष खुशीलाल चौधरीको अध्यक्षतामा भएको सुनुवाई कार्यक्रम फाउण्डेशनका कार्यक्रम संयोजक नित्यानन्द मण्डलले संचालन गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको