मणिलाल विश्वकर्मा
लहान, २५ भदौ पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सिरहाको खण्डको औरही गाउँपालिकाको औरही र दरहैया गाउँको सीमा नदी गागनमा पुल निर्माण सम्पन्न नहुँदा आहोरदोहोर गर्नेहरु सास्ती भोग्न बाध्य छन् ।
सम्झौता भएको तीन वर्ष सात महिनाको अवधिमा पूर्व र पश्चिमतर्फ पिल्लरसहित एक÷एक वटा स्पानको स्ल्याव ढलान भएपनि बीच भागको निर्माण अधुरो रहेकाले गागनको करिब तीन फिटसम्म पानीमा हेलिएर ओहोरदोहोर गर्न बाध्य भएको स्थानीयको गुनासो छ । हिराचन रोशन जेवी मार्फत् रोशन कन्ट्रक्सनले निर्माण गरिरहेको पुल ८ साउन २०७९ भित्र निर्माण सकिने गरी ८ माघ २०७६ मा सम्झौता भएको थियो । सुस्त गतिमा पुल निर्माणको काम भइरहेकाले गाउँपालिका केन्द्र ओहोरदोहोर गर्न समेत समस्या हुने गरेको औरही १ हरट्टी दरहैयाका स्थानीय महेशकुमार यादवले बताए ।
पुल निर्माण ढिलो हुँदा बर्खामा पैदल, साइकल र मोटरसाइकलमा जोखिमपूर्ण ढंगले गागन वारपार गर्नुको बिकल्प नरहेको यादवले बताए । हुलाकी सडक अन्तर्गत सिरहा खण्डमा पर्ने पूर्व बलानदेखि पश्चिम कमला नदीसम्मका प्रायः सबै ठाउँका खोला नदीमा पुल, कलभर्ट बनेपनि गागनमा पुल निर्माण सम्पन्न नहुँदा हुलाकी सडक हुँदै दैनिक ओहोरदोहोर गर्ने सर्वसाधारण अप्ठ्यारोमा पर्ने गरेको औरही ४ का वडाध्यक्ष सुरेन्द्र प्रसाद यादवले बताए ।
करिब २० वर्षअघि औरही गाउँको पूर्वपट्टिबाट बग्ने गागनमा पुल निर्माण गरेको १० वर्षपछि बाढीले पुलदेखि करिब तीन सय ५० मिटर उत्तरतिर बाँध भत्काएर खोलाले धार परिवर्तन गरेको स्थानीय गाउँलेहरु बताउँछन् । बाँध भत्काएर खोला पुरानो पुलभन्दा दुई सय मिटर पूर्वबाट बग्न थालेपछि स्थानीय बासिन्दा खोलाको पानीमा हेलिएर आवतजावत गर्न बाध्य छन् । उनका अनुसार औरही ४ इँटाटार र सिरहा नगरपालिका २१ सन्हैठा जाड्ने सहजा नदीमा त झन् भर्खर पुल निर्माणको सुरसार गरिएकाले समस्या भएको छ ।
पुलको निर्माणको सम्झौता अवधि सकिएर आगामी पुसम्म म्याद थप हुँदा करिब ६५ प्रतिशत निर्माण सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ । योजना कार्यालयका साइट इञ्जिनियर कौशल किशोर यादवका अनुसार प्रिस्ट्रेस प्रविधिको एक सय २६ मिटर लम्बाई र ११ मिटर चौडाइको गागन पुल निर्माणका लागि हिराचन रोशन कन्सट्रक्सनले १२ करोड ९२ लाख ४० हजार तीन सय १० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
पुलको पिल्लरसहित पूर्व र पश्चिमतर्फ गरी दुईवटा स्पानको स्ल्याव ढलान भइसकेको र आगामी पुसम्म बीचको स्ल्याव ढलान गरी असारसम्म पुल संचालन हुने साइट इञ्जिनियर यादवले बताए । उनका अनुसार सहजा नदीमा २५ मिटर लम्बाईको पुल निर्माणका लागि सगुन निर्माण सेवासँग ठेक्का सम्झौता भइसकेकाले आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुनेछ ।