शैलेन्द्र महतो
जनकपुर , ५ साउन । सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजारनजिक खाल्डोमा जमेको पानीमा आइतबार एकै परिवारका तीन बालबालिका अस्ताए । मृत्यु हुनेमा कवाड तथा प्लास्टिकका टुक्रा संकलन गरेर जीविकोपार्जन गर्ने स्थानीय अवास शेख र सबिनाका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख छन् । सबिना गोलबजारमा एक घर भाडामा लिएर पाँच सन्तानलाई साथै राखेर कवाड संकलन गर्दै परिवारको गुजारा चलाउँदै आइरहेकी थिइन् । उनका श्रीमान् शारीरिक रुपमा अशक्त भएकाले रौटहटस्थित घरमै छन् ।
आइतबार बिहानै खाना खाइसकेपछि जेठी छोरो सबनमसँग कवाड तथा प्लास्टिक संकलन गर्ने तयारी गरेकी थिइन् । विद्यालय बिदा भएकाले अरु छोराछोरी खेल्न बाहिर निस्किएका थिए । केहीबेरमै छोराछोरी पानी जमेको खाल्डोमा फसेको खबर पाइन् । रोइकराइ गर्न थालिन् । स्थानीय जुटिहाले, खोजी सुरु गर्न थाले । सुरुमा स्थानीयले एक जनामात्रै डुबेको खबर पाएका थिए । खोजी गर्दा अन्य दुई बालबालिकाको शव पनि सोही खाल्डोमा फेला प¥यो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार उक्त खाल्डो वर्षौंदेखि गाईवस्तुलाई पानी खुवाउन प्रयोग हुँदै आएको हो । करिब ५० फिट लम्बाइ, २५ फिट चौडाइ र ६ फिट गहिरो खाल्डोमा जमेको पानी हाटबजार लाग्ने दिन गाईवस्तुलाई पिउन दिइने गरिन्छ । सिरहाको यो घटना भएको केही घण्टाकै अन्तरालमा बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा ६ वर्षीया बालिका डुबिन् । साँझ करिब ६ः३० बजे स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी नुहाउने क्रममा पोखरीमौ डुबेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार परिवारका सदस्य र स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । यसअघि १४ असारमा रौतहटको गढीमाइ नगरपालिका–१ स्थित बागमती नदीको घरैयाघाटमा डुबेर दुई बालकको मृत्यु भएको थियो । नदीमा बगिरहेको दाउरा निकाल्ने क्रममा ८ वर्षीय आदित्य यादव र ८ वर्षीय अनिकेस यादव डुबेर बेपत्ता भएका थिए । स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले उनीहरूलाई उद्धार गरी अस्पताल पु¥याए पनि चिकित्सकले बचाउन सकेनन् ।
६ जेठ २०८२ मा धनुषाको कमला नगरपालिका–२ सराबे टोल नजिक नवनिर्मित कृषि सडकको खाल्डोमा डुबेर एकै घरका दुई बालकले ज्यान गुमाए । स्थानीय रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनका भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह खेल्ने क्रममा बाटो निर्माणका लागि करिब ५ फिट गहिरो खनिएको खाल्डोमा पसे । तर कहिल्यै ननिस्किने गरी अस्ताए । कमला नगरपालिकाको १० लाख रुपैयाँको लागतमा कोटेशनमार्फत स्थानीय ठेकेदार राजेन्द्र मण्डलले आÇनै खेतबाट सडक निर्माण गर्दा सम्झौताविपरीत खनेको गहिरो खाल्डो दुवै बालकको काल बन्यो ।
त्यसैगरी, २०८२ साउन २७ गते बिहान पर्साको ठोरी गाउँपालिका–२ हनुमाननगरका मनोज कठायतका ८ वर्षीय छोरा अंश र ४ वर्षीय छोरा आयंश घरबाट खेल्न निस्किएका थिए । घरदेखि करिब १५० मिटर टाढा रहेको ठोरी–१ र २ को बीचबाट बग्ने डेढु खोलामा खेल्ने क्रममा उनीहरू केही समयअघि डोजरले बालुवा निकालेको खाल्डोमा जमेको पानीमा नुहाउन पसे । तर कहिल्यै ननिस्किने गरी अस्ताए । यी घटनाहरू उदाहरण मात्र हुन् । मधेशका आठवटै जिल्लामा वर्षेनी डुबेर सयभन्दा बढी बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको छ ।
खाल्डोले बढाएको जोखिम
विकास निर्माणका लागि खनेर छाडिएका खाल्डा, नदी तथा नदीकिनारमा जथाभावी ग्राभेल उत्खनन्पछि बनेका खाल्डामा जमेको पानी, माछापोखरी तथा अन्य जलाशयहरू अबोध बालबालिकाका लागि काल बन्दै गएका छन् । पछिल्ला चारवर्षको अवधिमा मधेशमा साढे चार सय बालबालिकाको यस्ता खाल्डा तथा पोखरीमा डुबेर ज्यान गएको प्रहरीको तथ्यांक छ । वर्षेनी सय बढी बालबालिकाको आकालमा डुबेर मृत्यु भइरहेको प्रहरीकै तथ्यांकले देखिन्छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को जेठ मसान्तसम्म मात्र मधेश प्रदेशमा डुबेर १११ जना बालबालिकाको अकालमै ज्यान गएको छ ।
मृत्यु हुनेमध्ये ५७ जना बालक र ५४ जना बालिका छन् । सबैभन्दा बढी रौतहटमा २४ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । त्यहाँ १३ जना बालक र ११ जना बालिकाले ज्यान गुमाएका छन् । त्यसैगरी, सप्तरीमा ६ बालिकासहित १७ जना, सिरहामा ७ बालिकासहित १६ जना, धनुषा र सर्लाहीमा १३–१३ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । धनुषामा ८ जना बालिका र ५ जना बालक तथा सर्लाहीमा ८ जना बालक र ५ जना बालिकाले ज्यान गुमाएका छन् । यस्तै, महोत्तरीमा ७ जना बालिका र ५ जना बालक गरी १२ जना, बारामा ६ जना बालक र ५ जना बालिका गरी ११ जना तथा पर्सामा ५ जना बालकको डुबेर मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यसअघि आर्थिक वर्ष २०८१÷८२ मा पनि डुबेर १५० जना बालबालिकाको मृत्यु भएको थियो । तीमध्ये ९६ जना बालक र ५४ जना बालिका थिए । यसरी आ.व. ७८।०७९ देखि चालु आ.व. २०८२।०८३ सम्म ४५३ बालबालिकाको मधेशमा डुबेर मृत्यु भएको प्रहरीको तथ्यांकमा देखिन्छ । चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा मृतकको संख्या केही कम देखिए पनि डुबेर बालबालिकाले अकालमै ज्यान गुमाउने क्रम भने रोकिएको छैन । त्यसअघि आर्थिक वर्ष २०८०÷८१ मा ११० जना तथा आर्थिक वर्ष २०७९÷८० मा ८२ जना बालबालिकाको डुबेर मृत्यु भएको थियो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकाल प्रदेशको आठवटै जिल्लामा वर्षाको बेला पानी पर्ने र पोखरी, नाला, नहरहरुमा झाड पलाएको अवस्थामा बालबालिकाले गहिराइको अवस्था नपाएर डुब्ने गरिएको बताउँछन् । ‘मधेश प्रदेशका जिल्लाहरुमा सुगम र दुर्गम क्षेत्रहरु छन् । वर्षाको बेला पानी पर्ने र पोखरी, नाला, नहरहरुमा झाड पलाएको अवस्था हुन्छन् । त्यमा गहिराइको अनुभव बालबालिकाले थाहा नपाउने र पसेपछि डुब्ने गरेको विगतको घटनाको प्रकृतिहरुबाट देखिएको छ’ उनले भने ।
किन भइरहेछ यस्तो ?
बालबालिका डुबेर मृत्यु हुने क्रम बढ्नुमा गाउँ–गाउँमा रहेका माछा पोखरी, नुहाउने तथा लुगा धुने पोखरी, विकास निर्माणका लागि खनेर छाडिएका खाल्डाखुल्डी तथा निजी जग्गा, खोला र नदी किनारबाट माटो तथा ग्राभेल उत्खनन गरी छाडिएका खाल्डाहरू प्रमुख कारण बनेका छन् । मधेशका कमला, औरही, रातु, बागमतीलगायत प्रायः सबै नदी किनारमा स्थानीय सरकार र प्रहरी प्रशासनकै मिलेमतोमा ग्राइभेल उत्खन्न भएको गहिरा खाल्डा पर्याप्त देख्न सकिन्छ । यस्तै सडक निर्माणको क्रममा छेउबाट माटो झिकेको खाल्डोहरु पनि मधेशमा धेरै छन् । ती खाल्डाहरू वर्षायाममा पानीले भरिएपछि बालबालिकाका लागि ठूलो जोखिम बन्छन् ।
खेल्ने क्रममा सामान्य पानी ठानेर पस्ने बालबालिका गहिराइको अनुमान गर्न नसक्दा डुबेर ज्यान गुमाउने गरेका छन् । यस्ता खाल्डाखुल्डीको व्यवस्थापनमा स्थानीय सरकार र सम्बन्धित निकाय गम्भीर नदेखिएको आम जगुनासो छ । उत्खनन् रोक्न नसक्ने र उत्खननपछि खाल्डा व्यवस्थापन गर्न पनि बेवास्ता गर्ने प्रवृत्तिका कारण गरिब तथा मध्यमवर्गीय परिवारका बालबालिका सबैभन्दा बढी जोखिममा परेका छन् । पछिल्लो समय निजी जग्गाबाट माटो र ग्राभेल बिक्री गर्ने क्रम पनि बढेको छ । २५÷३० फिटसम्म गहिरा खाल्डा खनेर खुला छाड्ने प्रवृत्ति पनि छ । यसमाथि प्रभावकारी नियमन गर्न सरकारले अझै सकिरहेको छैन ।
विकास निर्माणका क्रममा सडक छेउमा खनिएका खाल्डाले पनि बालबालिकाको ज्यान लिइरहेको छ । यस्ता दुर्घटनाको शिकार प्रायः गरिब तथा विपन्न परिवारका बालबालिका बन्ने गरेका छन् । अभिभावक दैनिक जीविकोपार्जनका काममा व्यस्त हुँदा बालबालिका खेल्दै त्यस्ता जोखिमयुक्त स्थानमा पुग्ने र दुर्घटनामा पर्ने गरेको देखिन्छन् । यी घटनाको न्यूनीकरणका लागि तीनै तहका सरकारले अपेक्षित पहल गर्न नसकेको देखिन्छ । सबभन्दा बढी जिम्मेबार स्थानीय सरकार हुनु पर्ने हो । सिरहाका प्रहरी प्रवक्ता रमेश पाल भन्छन्, ‘हामीले बैठक तथा छलफलहरूमा बालबालिका डुब्ने सम्भावित जोखिमका कुरा उठाइरहेका हुन्छौं । यसमा सबभन्दा बढी ध्यान स्थानीय सरकारले दिनु पर्ने हो । सचेतना फैलाउनु पर्ने हो । यसले घटनाहरु न्यूनीकरण हुन सक्छ ।’
मधेश मामिलाका जानकार तुलानारायण साह मधेशमा बालबालिका डुबेर हुने अधिकांश मृत्यु वर्गीय समस्यासँग जोडिएको बताउँछन् । ‘डुब्ने घटनामा प्रायः गरिब परिवारका बालबालिका पर्दै आएका छन् । सम्पन्न परिवारले बालबालिकाको राम्रो रेखदेख गर्न सक्छन्,’ उनले भने, ‘तर गरिब परिवारका अभिभावक जीविकोपार्जनमा व्यस्त हुँदा बालबालिका खेल्ने क्रममा पोखरी, नाला र खाल्डाखुल्डीमा पुगेर दुर्घटनामा पर्ने गरेका छन् ।’ उनले यस्ता घटनामा राज्य र सरोकारवाला जिम्मेवार हुनुपर्ने पनि बताए । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालका अनुसार वर्षायाममा बालबालिका डुब्ने घटनाप्रति सबै पक्ष सचेत हुन आवश्यक छ ।
‘अभिभावकले बालबालिका कहाँ गएका छन्, के गरिरहेका छन् भन्ने विषयमा निरन्तर निगरानी राख्नुपर्छ,’ उनी भन्छन्, ‘घरवरिपरिका नाला, पोखरी र खाल्डाखुल्डी सफा गर्ने, आवश्यक स्थानमा पुर्ने तथा तारबार लगाउने काममा समुदायको सक्रिय सहभागिता आवश्यक छ ।’ एसपएसपी ढकालका अनुसार प्रदेश प्रहरी कार्यालयदेखि जिल्ला, इलाका र प्रहरी चौकीसम्मका इकाइले टोलटोलमा पुगेर डुब्ने जोखिमबारे जनचेतना अभियान सञ्चालन गरिरहेका छन् । यस्ता जोखिम न्यूनीकरणका लागि पालिका, वडा तहबाटै सचेतना कार्यक्रम सञ्चालन हुनुपर्ने उनको भनाइ छ ।




