मणिलाल विश्वकर्मा
लहान, ७ फाल्गुन । सिरहाको सुखीपुर नगरपालिका ९ वैसखा गाउँ घर भई सर्लाहीको जिल्ला सदरमुकाम मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत रहेकै बेला हत्या गरिएका करिब ३७ वर्षीय सव–इञ्जिनियर प्रमोदकुमार यादवलाई सहिद घोषणा र मृतकका परिवारलाई क्षतिपूर्ति माग्दै आफन्त र स्थानीय बासिन्दा आन्दोलित भएका छन् । आन्दोलनको क्रममा पीडित आफन्त र स्थानीय बासिन्दाले बिहीबार दिउँसो करिब दुई बजेसम्म दुई घण्टा पूर्व पश्चिम लोकमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका १० धनगढी बजार खण्ड अबरुद्ध गरे । उनीहरुले सडकमा टायर बालेर मृतक सव–इञ्जिनियर यादवलाई सहिद घोषणा, मृतक परिवारलाई क्षतिपूर्ति, नाबालिका छोरीको निःशुल्क शिक्षा, पीडित परिवारबाट एक जनालाई रोजगारीसहित हत्यारालाई कारबाही र गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।
सडक अवरोधले पूर्व पश्चिम जानु पर्ने सयौं सवारी साधन रोकिएपछि पीडित परिवारले उठाएका मागहरु माथिल्लो निकायमा पठाउने प्रतिबद्धता जनाएपछि सडक अवरोध खोलिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिए । ‘घटना भएको जिल्लामा पनि प्रहरीले अनुसन्धान गरिरहेकाले अपराधी छिट्टै पक्राउ पर्ने कुरामा शंका उपशंका नगर्न आग्रह गर्यौं’ उनले भने ‘त्यसपछि अबरुद्ध सडक खुलाइएको हो ।’
कर्मथलो फर्किएकै दिन हत्या
गत १४ माघमा वैसखा गाउँमा दाजुसँग बस्दै आएका ७१ वर्षको उमेरमा बृद्ध बाबु लक्ष्मी यादवको निधन भएपछि गाउँ आएका प्रमोद २५ माघमा काजकिरिया सकेर ३ फागुनको दिउँसो बुहारी पुनम र दुई वर्षीया छोरी अनायासहित कर्मथलो मलंगवा फर्किएको दाजु मनोजकुमार यादवले बताए । ‘भाईले शुद्धी भोजपछि घरमा पूजा गरेर फर्किन्छु भन्दै थियो’ उनले भने ‘तर कार्यालयमा हाजिर हुन तारन्तार फोन आउनुका साथै आफन्तकोमा सुतक परेपछि कर्मथलो फर्किएको भाईको त्यही दिन निमर्मतापूर्वक हत्या भयो ।’
आफन्तकोमा सुतक परेपछि ३ फागुनको बिहान भाडाको स्कर्पियो चढेर सिरहाको नवराजपुर गाउँपालिका ३ मझौरा गाउँमा रहेको ससुरलीमै बिहानको खाना खाइवरी भाई बुहारी मलंगलवा फर्किएको उनले बताए । ‘देशमा मेरो भाई जस्ता हजारौं सव– इञ्जिनियरहरु छन्’ उनले भने ‘प्रहरीले अपराधी पत्ता लगाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दछु ।’ दुई दिदी र बहिनीपछिको कान्छो भाई प्रमोदलाई छोरा सरह हुर्काएको सुनाउँदै उनले भने ‘मोवाइलमा नम्बर समेत सेभ रहेको व्यक्तिले फोन गरेको भन्ने सुनेको छु, भाईले नजिकबाट चिनेकै व्यक्तिले नै हत्या गरेको हुन सक्छ ।’ करिब चार वर्षको उमेरमा आमा गुलावदेवी गुमाएका प्रमोद दाजु भाउजुकै लालनपालन र रेखदेखमा हुर्किएका थिए ।
चार बहिनी छोरी रहेका दाजु मनोजले पनि भाईलाई नै छोरा सरह मानेर दुःख झेल्दै पढाएर निजामती कर्माचारी बनाए तर परिवारका लागि केही गर्नै नपाई उनको हत्या भएकोमा गाउँलेहरु पनि स्तब्ध छन् । ‘मेरो भाइले ज्यान नै गुमाउनु पर्नेगरी के गरेको थियो ?’ उनले भने ‘प्रहरीले घटनाको यथार्थ छानबिन गरी तत्काल अपराधीलाई सार्वजनिक गरी कानुनी कारबाही गरोस् ।
अनुसन्धान नतिजा उन्मुख ः प्रहरी घटना लगत्तै स्थानीय प्रशासनले तत्काल सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान तीब्र बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चढेर आएका दुई जनाको समूहले यादवलाई फोनमार्फत कोठा बाहिर बोलाएर नजिकैबाट छातीको बायाँ भागमा गोली प्रहार गरेर फरार भएका थिए ।
मलंगवा नेपाल–भारत सीमासँग नजिक भएकाले घटनामा संलग्न संलग्न व्यक्ति भारततर्फ फरार भएको आशंका गरिएको भएपनि घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलनसहित विभिन्न कोणबाट अनुसन्धान तीब्र बनाइएको मधेश प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । उनका अनुसार सव–इञ्जिनियर यादवको हत्याको विषयमा प्रदेश, जिल्लाबाट खटिएको प्राविधिक सहितको विशेष टोलीले अनुन्धान गरिरहेको छ । ‘अनुसन्धान सकारात्मक र नतिजा उन्मुख छ’ उनले भने ‘प्रहरीले छिट्टै अपराधी पक्राउ गरी कानुनी कठघरमा ल्याउँछ ।’




