मणिलाल विश्वकर्मा
लहान, २९ मंसिर । सिरहाको लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको करिब साढे चार दशकदेखि हकभोगमा रहेको जग्गा रजिस्ट्रेसनका लागि लाग्ने लाभकर सरकारले छुट दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले अस्पतालको हकभोगमा रहेको जग्गा रजिस्ट्रेसनका लागि लाभकरबापत लाग्ने एक करोड ३४ लाख ९५ हजार ९५९ रुपैयाँ छुट दिने निर्णय गरेको हो । सरकारको निर्णयपछि सिरहाको पूर्वी, सप्तरीको पश्चिमी र उदयपुर जिल्लाको दक्षिणी भेगका बिरामी आउने अस्पतालको भौतिक संरचना निर्माणसहित स्तरोन्नति र सेवा विस्तार गर्न सहज हुने भएको छ ।
सामाजिक अभियन्तासमेत रहेकी लहानस्थित होप फाउन्डेसन नेपालकी अध्यक्ष पार्वती सुब्बाले उपचारका लागि बाहिर जान नसक्ने बिरामीहरू पुग्ने प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसन गर्दा लाग्ने लाभकर छुट दिने निर्णय गरेर गरिब विपन्न समुदायका लागि पनि सरकार छ भन्ने कुराको अनुभूति दिलाएको बताइन् । ‘त्यसका लागि स्थानीयदेखि केन्द्रसम्म पहल गर्नेहरूलाई यो भेगका जनताले सदैव सम्झिरहने छन्,’ उनले भनिन् ।
विभिन्न कारणले रोकिएको जग्गा रजिस्ट्रेसनका लागि संघीय सरकारले लाभकर छुट गरिदिने निर्णय गरेर यो भेगका जनताका लागि पुण्यको काम गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले बताए । ‘स्थानीय जनताको माग र आवश्यकतालाई मध्यनजर गर्दै सरकारले जुन निर्णय गरेको छ, त्यसले सिंगो सिराहावासीसहित अस्पताल परिवार हर्षित छौँ,’ उनले भने ।
मन्त्रिपरिषद् बैठकले जग्गाधनी पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको लहान नगरपालिका– ७ (क) स्थित कित्ता नं. २४८, २४९, ३२७ र ३३० को गरी एक बिघा १५ कठ्ठा १० धुर जग्गा तथा त्यसमा बनेको भवनसमेतको कायम हुने १७ करोड ९९ लाख ४६ हजार एक सय आठ रुपैयाँ १० पैसा जग्गाधनीहरूले मधेश प्रदेश सरकारको नाममा हस्तान्तरण गर्दा आयकर ऐन, २०५८ को दफा ९५ क. को उपदफा (५) को खण्ड (ख) बमोजिम लाग्ने लाभकर आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम छुट दिने निर्णय गरेको हो ।
सेवा विस्तारका लागि खुल्यो बाटो
करिब ४५ वर्षअघिको जनसंख्या अनुसार १५ शय्याबाट सुरु भएको अस्पताल प्रदेश सरकारमातहत गएपछि ५० शय्यामा सञ्चालन भएपनि एक सय शय्या सञ्चालन गरी सेवा दिँदै आएको अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. बृजेन्द्र साहले बताए । अस्पतालका रेडियोलोजी विभागका प्रमुखसमेत रहेका उनले भने, ‘अस्पतालको स्वामित्वमा जग्गा आएपछि अब सेवा विस्तारको बाटो खुलेको छ ।’
हाडजोर्नी, बालरोग, जनरल सर्जरी, जनरल मेडिसिनको सेवा दिँदै आएको अस्पतालको आÇनै जग्गा भएपछि एक सय शय्या क्षमताको भवन निर्माणसहित सिटिस्क्यान, एमआरआई र विशिष्टीकृत उपचार सेवा विस्तार गरिने उनले बताए । ‘जग्गा आÇनो स्वामित्वमा ल्याउन स्थानीय अगुवाहरूसँगै मिलेर पूर्व मे.सु. डा. सुनीलप्रसाद कुशवाहाले गरेको प्रयास पनि उल्लेखनीय छ,’ उनले भने ।
वि.सं. २०३७ मा लहानका व्यावसायिक घरानाका रामकुमार शारदा र उमाप्रसाद मुरारकाका परिवारले अस्पतालका लागि एक बिघा १५ कठ्ठा १० धुर जग्गा दिएका थिए । दाता परिवारको तर्फबाट मुरारीलाल मुरारका अस्पतालको नाममा जग्गा रजिस्ट्रेसन गर्न तयार भए पनि लाग्ने लाभकर कसले तिर्ने भन्ने विषयमा अन्योल भएपछि छुटका लागि गत भदौको जेन–जी आन्दोलनपछि सरकार बनेसँगै स्थानीय अगुवा, अस्पताल परिवारले पहल थालेका थिए ।




