मिथिलेश यादव
लहान, ३१ जेठ । काठमाडौंमा लहानको आँप जति नामी छ, त्यतिकै बदनाम पनि । लहानको गुलियो मालदह आँप भनेर अर्कै आँपबाट ठगिनेका लागि बदनाम छ भने लहानकै मालदहको स्वाद पाएकाहरू माझ भने यो आँप नामी छ । लहानको आँप भनेर भारतको वा अर्कै ठाउँका आँप बेच्ने, एउटा आँप भनेर अर्कै बेच्ने, विषादी प्रयोग गरिएको आँप बेचेर मात्र लहानको आँप बदनाम भएको होइन । समयअगावै बोटबाट आँप टिपेर विषादी हालेर पकाउने अनि बिक्री गर्ने क्रमले पनि लहानको आँपले बदनामी कमाएको छ । लहानमा जेठ पहिलो साताबाट आँप टिप्न सुरु हुन्छ । भारतको आँप त वैशाखबाटै भित्रिन्छ । अनि लहानबाट भारतीय आँप काठमाडौं पु¥याइन्छ र लहानको मालदह आँप भनेर बेचिन्छ । यसकारण लहानको आँपको बदनाम हुँदै आएको छ ।
लहानको आँपलाई बदनामी गर्नेबाट जोगाउन लहान नगरपालिकाले गत वर्षदेखि आँपको ब्रान्डिङ गरी काठमाडौं पठाउन थालेको छ । सप्तरी र सिरहाको गाउँगाउँमा किसानले उत्पादन गरेको आँप बिक्रीको प्रमुख थलो लहान बजार हो । यहाँ आउने आँपलाई लहान नगरपालिकाले ब्रान्डिङ, ग्रेडिङ र प्याकेजिङ गरी यसपालि पनि काठमाडौं पठाउन थालेको नगर प्रमुख महेशप्रसाद चौधरीले बताए । ‘आँपको हरेक प्याकेटमा ‘लहानको आँप’ भनेर ब्रान्डिङ गरी काठमाडौंमा लहानको आँपलाई लोकप्रिय बनाउने प्रयासलाई यस वर्ष पनि निरन्तरता दिइएका छौं,’ मेयर चौधरीले भने ।
आँप बिक्रीका लागि काठमाडौंमा ‘लहानको आँप’ स्टल स्थापना गरिएको छ । स्टलमा पाँच र दस किलोको आँप प्याकिङ गरी बिक्रीका लागि राखिएको छ । बम्बई र मालदह आँपलाई अलग अलग बिक्रीमा राखिएको छ । विभिन्न विषादी प्रयोग गरी पकाउने आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले लहान नगरपालिकाले मानव स्वास्थ्यलाई दृष्टिगत गरी अर्गानिक आँप छानेर ब्रान्डिङ गरी त्यस्तो आँप बिक्री–वितरण गरिरहेको मेयर चौधरीले बताए । बाहिरको र विषादी हालेर पकाइएको आँपका कारण लहानको आँपको विश्वसनीयता जोगाउन विषादीरहित आँपलाई ब्रान्डिङ गर्न सुरु गरेको मेयर चौधरीले बताए । ‘लहानको आँप भन्नेबित्तिकै काठमाडौं, पोखराजस्ता सहरका ग्राहक हुरुक्कै हुने भए पनि समयअगावै औषधि प्रयोग गरेर व्यापारीले गरिरहेको कमजोरी हटाउन नगरपालिकाले पहल थालेको छ,’ उनले भने ।
आँप बगैंचामै दिनरात
सप्तरी शम्भुनाका दुर्गा साह आँपको रुखमा मजर (फूल) लागेखि नै आँप बगैंचामा मचान बनाएर (बाँसको अग्लो खटिया) सुत्न थालन्छन् । आँपका बोटमा फूल ढपक्कै फुलेदेखि फल पाकेर नटिपेसम्म उनको रात मचानमा बित्छ । करिब डेढ बिघामा आँप खेती गरेका साहको चैत महिनादेखि बगैंचामै बास हुन्छ । फूल फुल्नुअघिदेखि प्रत्येक बोटमा पानी लगाउने, मल, औषधि हाल्ने काममा दिनहुँ खटिनुपर्ने उनी बताउँछन् । ‘फूल खेल्ने बेला कीरा मार्ने औषधि हाल्नेदेखि फल टिकाइराख्न दिनरात हेरचाह गर्न बगैंचामै बास बस्नुपर्छ,’ उनले भने ।
गर्मीमा सर्पको जोखिम हुन्छ । जोखिम मोलेर चार महिना बगैंचामा सुतेर बल्ल लहान बजारमा आँप पु¥याउने उनले बताए । गत वर्ष दुई लाख रूपैयाँ लगानी लगाएर फलाएको आँप बेच्दा करिब दुई लाख नाफा भएको उनले सुनाए । ‘घरपरिवारका सबै सदस्यको मेहनतले फलेको आँप बेचेर करिब चार लाख रूपैयाँ हात प¥यो,’ उनले भने, ‘यसमा दुई लाख रूपैयाँ फाइदा भयो ।’
त्यस्तै चार बिघामा आँप खेती गरेका सिरहा गोविन्दपुरका किसान लालबहादुर कोइरीको अनुहार यसपालि पोहोर जस्तो उज्यालो छैन । यसपालि धेरै आँप नफलेकाले उनको अनुहारमा चमक आउन नसकेको हो । तर लामो समयदेखि आँप खेती गरिरहेका उनलाई यसपालि आँप नफल्ने वर्ष हो भन्ने हेक्का भने थियो । ‘जति फलेको छ सन्तुष्ट छु,’ उनले भने, ‘बिक्री मूल्य राम्रो पाएपछि काफी हुन्छ ।’ यसपालि लहानमा आँपको मूल्य कम छ । आँपको उत्पादन कम भए पनि मूल्य भने पोहोरको जत्तिकै छ । मालदह खुद्रा ५० रूपैयाँ किलोभन्दा बढी छैन। बम्ई आँपको मूल्य प्रतिकिलो ७० रूपैयाँ सम्म छ ।
खासगरि सप्तरी र सिरहामा उत्पादित आँप स्वादिलो हुने भएकाले नारायणघाट, काठमाडौं, पोखरालगायत भारतको बिहार राज्यमा यसको बढी माग हुन्छ । अढाई बिघामा आँप खेती गरेका मल्हनवाका मिश्री यादव पनि यसपालिको मूल्यबाट सन्तुष्ट छैनन् । आँप कम फल्दा मूल्य बढी हुनुपर्नेमा ठ्याक्कै उल्टो भएको उनले बताए । उत्पादन पनि कम, मूल्य पनि कम हुँदा किसान चिन्तित भएको उनले बताए ।
सिरहा र सप्तरीलाई आँप खेतीको भण्डार मानिन्छ । सिरहा र सप्तरीका किसानले आम्रपाली, मालदह, बम्बई, दसहरी, कलकतिया जातका आँपको खेती गर्दै आएका छन् । आँप तीन वर्षमा दुई वर्ष बढी फल्ने र एक वर्ष कम फल्ने मधेस प्रदेशका कृषि निर्देशक राजीव यादवले बताए । ‘यो कम आँप फल्ने वर्ष हो,’ उनले भने, ‘यसपालि ठ्याक्कै पोहोरको तुलनामा कति कम आँप उत्पादन भयो भन्न तथ्यांक चाहिन्छ । अहिलेसम्म जिल्लाबाट तथ्यांक आइपुगेको छैन् ।’
मालदह भर्खर टिप्न थालिएको उनले बताए । कलकतिया, आम्रपाली, दसहरी, जर्दालगायतका आँप किसानले असारसम्म टिप्छन् । यसपालिको तथ्यांक असारको अन्तसम्म आउने उनले बताए । ‘तर यसपालि पोहोरको तुलनामा कम आँप उत्पादन भएकै हो,’ उनले भने, ‘प्रतिशतमा कति कम भन्न तथ्यांक नै चाहिन्छ । तर सामान्य सिद्धान्त अनुसार तीन वर्षमा एक वर्ष बढीमा ३० प्रतिशतसम्म उत्पादन कम भएको पाइएको छ ।’
आँपमा मधेस अब्बल
नेपालमा सबैभन्दा बढी आँप फल्ने मधेस प्रदेशमा हो । मुलुकको कुल उत्पादनको ७६ प्रतिशत आँप मधेसमा फल्छ । मुलुकभर करिब ४२ हजार १ सय ९६ हेक्टर जग्गामा आँप खेती हुँदै आएको छ । मुलुकभरि वार्षिक ४ लाख ५३ हजार ४ सय १६ टन हाराहारीमा आँप उत्पादन हुन्छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेस प्रदेशमा मात्र ३ लाख ४१ हजार ४ सय ४५ टन आँप फल्छ । मधेस प्रदेशमा वर्षैपिच्छे आँप खेती विस्तार हुँदै गएको मन्त्रालयको तथ्यांक छ । आव २०७८÷७९ मा २७ हजार ६ सय ५३ हेक्टर क्षेत्रमा आँप खेती भएको थियो । जसमा ३ लाख ८६ हजार ६ सय ५९ मेट्रिक टन आँप उत्पादन भएको थियो । २०७९÷८० मा २९ हजार ९९ हेक्टरमा आँप खेती गरिएको थियो । जसमा ३ लाख ९५ हजार ७ सय ९४ मेट्रिक टन आँप उत्पादन भएको थियो । २०८०÷८१ मा ३३ हजार १ सय ७१ हेक्टरमा आँप खेती गरिएको थियो । जसमा ३ लाख ४६ हजार ६ सय ८१ मेट्रिक टन आँप फलेको थियो ।
मधेसका आठवटै जिल्लामा आँपको व्यावसायिक खेती भए पनि सबैभन्दा बढी उत्पादन सप्तरी र सिरहामा हुन्छ । गत वर्ष सप्तरीमा ७ हजार ५ सय हेक्टर क्षेत्रमा आँप लगाइएको थियो । उक्त क्षेत्रफलमा ८६ हजार २ सय ५० टन आँप फलेको थियो । गत वर्ष सिरहामा ९ हजार ५ हेक्टर क्षेत्रमा आँप लगाइएको थियो । गत वर्ष सिरहामा १ लाख ३ हजार ५ सय ५८ टन आँप उत्पादन भएको थियो ।
त्यस्तै गत मधेस प्रदेशकै धनुषामा ३ हजार २ सय हेक्टर क्षेत्रमा आँप लगाइएकोमा ३६ हजार टन उत्पादन भएको थियो । महोत्तरीमा ४ हजार हेक्टरमा आँप लगाइएकोमा ४५ हजार टन उत्पादन भएको थियो । सर्लाहीमा २ हजार ५ सय हेक्टरमा आँप लगाइएकोमा ४५ हजार टन उत्पादन भएको थियो । सर्लाहीमा २८ हजार ७ सय ५० टन आँप फलेको थियो । रौतहटमा १ हजार ३ सय २५ हेक्टरमा आँप लगाइएकोमा १५ हजार २ सय ३७ टन उत्पादन भएको थियो । यसैगरी बारामा १ हजार ५ सय हेक्टरमा आँप लगाइएकोमा १६ हजार ८ सय ७५ टन फलेको थियो । यसैगरी गत वर्ष पर्सामा ८ सय ५० हेक्टरमा आँप लगाइएकोमा ९ हजार ७ सय ७५ टन उत्पादन भएको मधेस प्रदेशको कृषि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मधेसमा बम्बई, दसहरी, मालदह, जर्दा, आम्रपाली, कलकत्तिया, मिश्रीकन लगायत जातका आँप उत्पादन हुन्छ । हावापानीका दृष्टिले मधेस आँप उत्पादनका लागि अनुकूल क्षेत्र हो । तर आँपका उपभोक्ता बढिरहँदा स्वदेशी उत्पादन भने त्यही हिसाबमा बढ्न सकिरहेको छैन ।
शीतभण्डार नहुँदा समस्या
२०८१ चैत २६ गते मधेस प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको मुख्य फल आँपलाई युरोपलगायत मुलुकमा निर्यात गर्नुपर्ने बताएका थिए । मधेसको आँपको रसलाई जुसको रूपमा ब्रान्डिङ गरेर मनग्य आम्दानी लिन सकिने पनि उनले बताएका थिए । यसका लागि आँपको संकलन र भण्डारण आवश्यक छ । तर आँपको भण्डारण गर्न आवश्यक पर्ने शीतभण्डार मधेस प्रदेशमा छैन । न शीतभण्डार छ न आँप किसानलाई प्रोत्साहन गर्ने सरकारी सहयोग नै छ ।
सबैभन्दा बढी आँप उत्पादन हुने सिरहा र सप्तरीमा शीतभण्डार छैन । ‘शीतभण्डार भए किसानले आँप भण्डारण गरी मूल्य आएका बेला बेच्न पाउँथे,’ लहानको आँप बजारमा भेटिएका आँप किसान सागर चौधरीले भने, ‘सबैभन्दा बढी आँप उत्पादन हुने क्षेत्रमा शीतभण्डार नहुनु विडम्बना हो ।’ शीतभण्डार बनाउन मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७५ कात्तिक २० मा प्रस्ताव आह्वान गरेको थियो । प्राप्त प्रस्तावमध्ये मन्त्रालयले आठ संस्थालाई छनोट गरेको थियो । शीतभण्डार निर्माणका लागि सप्तरी जिल्ला सहकारी संघ, शुभनारायण कृषि व्यावसायिक फार्म, जनहित कृषक समूह, लक्ष्मीनिया धनुषा, लवकुश बचत तथा ऋण सहकारी संस्था, बरहथवा सर्लाही, राप्ती हर्बल प्रोसेसिङ प्रालि रौतहट, अमन मत्सय फार्म सिम्रौनगढ बारा, शिवम एग्रो इन्डस्ट्री सुगौली पर्सा र ग्लोबल लेदर ट्रेनिङ इन्डस्ट्री वीरगन्ज छनोटमा परेका थिए । प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लामा एकएकवटा शीतभण्डार बनाउने योजना अन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा शीतभण्डार निर्माणका लागि १६ करोड र अर्को आवमा ४० करोड र त्यसपछि २० करोड रूपैयाँ विनियोजन गरेको थियो ।
तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह भन्छन्, ‘मधेसको मेरुदण्ड कृषि उत्पादनलाई संरक्षण, प्रबद्र्धन र बजार व्यवस्थापनका लागि आठवटै जिल्लामा शीतभण्डार निर्माणको योजना ल्याएका थियौं तर योजना कार्यान्वयन प्रक्रियामा गएसँगै उजुरी र निवेदन हाल्ने क्रम सुरु भयो, त्यसले समस्या भयो ।’ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परे शीतभण्डार योजना ओझेलमा परेको उनले बताए । पछि आफू अर्थ मन्त्री भएका बेला पनि शीतभण्डारका लागि बजेट विनियोजन गरेको स्मरण गर्दै उनले भने, ‘किसानका लागि बरदान साबित हुने यो योजना केही व्यक्तिका कारण अलपत्र प¥यो ।’ अलपत्र शीतभण्डार योजनालाई कानुनी बन्दोबस्त मिलाएर पूरा गरिनुपर्ने उनको भनाइ छ । मधेस प्रदेश कृषि मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्रीस्तरीय निर्णयका आधारमा तय गरिएको शीतभण्डार योजना प्रदेशभरि नै अलपत्र परेको छ ।
आँप मिठो कहाँको? लहानको
