
सिरहा, १ पुस। उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ। सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो। झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे। खेलको १८औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पु¥याए। मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन्। कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो।
सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले गरे। आर्मीका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई शाक्यले गोलकिपर कुथुलाई बिट गर्दै सुन्दर गोल गरेका थिए। खेलको ३७औँ मिनेटमा सलहेशका जोराह ग्लोरीले डिबक्सबाट गरेको शक्तिशाली प्रहार दायाँ पोलमा लागेर बाहिरिएपछि खेलमा थप गोल गर्ने अवसरबाट बञ्चित भएको थियो।