विनय आजाद
सिरहा १२ कार्तिक । कुम्हाल, अर्थात् माटोमा आफ्नो सीप निखार्दै थरीथरीका सामग्री बनाउने समुदाय । यतिखेर यो समुदायका सबै जना निकै व्यस्त छन् । किनकि, उनीहरुले बनाउने माटोका सामग्री सबैभन्दा बढी माग हुने सिजन यही हो ।
लक्ष्मी पूजा र छठ पर्वमा अनिवार्य रुपमा दियो, घैँटो, हाथी, ढकना, सर्वालगायतका माटोका सामग्री प्रयोग हुन्छन् । त्यसैले यो पर्व नजिकिएसँगै कुम्हाल समुदायको व्यस्तता निकै बढ्छ । यतिसम्म कि घरपरिवारमा भएका सबै सदस्य माटोका सामग्री बनाउने काममा तल्लिन बन्छन् ।
सिरहाको कर्जन्हा नगरपालिका–७ मरेबाका ६० वर्षीय रामभगत पण्डितको त अचेल खाना खाने ठेगान पनि हुँदैन । उनी बिहान ५ बजे नै उठ्छन् अनि काममा लागिहाल्छन् । ‘यो सिजनमा त खाना खाने ठेगान पनि हुँदैन,’ उनी भन्छन्, ‘बिहान ५ बजे नै उठ्छु, काम गर्दागर्दै रातिको १०–११ कसरी बज्छ, थाहै हुन्नँ ।’
उनको परिवारका अन्य सदस्य पनि उनलाई सघाउँदै व्यस्त रहन्छन् । माटोका सामग्री बनाउन जान्ने घरमा एक जना रामभगत मात्रै हुन् । घरका अन्य सदस्य भने कोही माटो ल्याउने, कोही माटो तयार पार्ने, कोही घाममा सुकाउने तथा कोही आगोमा पकाउने लगायतका काम गर्ने गरेको उनी बताउँछन् ।
रामभगतका अनुसार हरेक वर्षको मध्य असोजदेखि छठअघिसम्म यसैगरी बित्ने गर्छ । ‘माटोको सामान बिक्री हुने समय नै यही हो,’ उनले भने, ‘यो सीप भएको घरमा म एक्लै छु, माग अत्यधिक छ, त्यसैले सबै जना जुटेका छौं ।’
माटोका सामग्री पूर्ण रुपमा तयार हुन कम्तिमा दुई दिन लाग्ने गरेको उनले बताए । तर, घरका चार–पााच जना नै यसैमा लागेर एक–सबा महिना मिहनेत गर्दा पनि आम्दानी हुने भनेको बढीमा एकदेखि डेढ लाख रुपैयाँ हो । वर्षभरिमा बढीमा दुई–अढाई लाखसम्म कमाइ हुने गरेको उनी बताउँछन् । त्यसैले होला, रामभगत बाल्यकालदेखि नै यो पेशामा संलग्न भएपनि अहिलेसम्म एउटा गत्तिलो घर पनि बनाउन सकेका छैनन् ।
यसैकारण उनी आफ्नै पेशाप्रति सन्तुष्ट छैनन् । ‘अहिलेको जमाना निकै महंगो भयो, हामीले बनाउने सामानको मूल्य भने लगभग पहिलाको जस्तै छ, वर्षभरिमा कमाएको दुई/अढाई लाखले त खान लाउनै समस्या हुन्छ,’ उनले भने, ‘यही पेशाको भरमा जीविका चलाउन अब निकै कठिन भइसक्यो ।’ आफ्ना छोरालाई वैदेशिक रोजगारमा पठाएका उनले नाती नातिनीहरुलाई पढाइरहेका छन् ।
‘जति गरे पनि यसले आर्थिक स्थिति राम्रो हुन सकेन,’ उनले भने, ‘अब यसको विकल्प खोज्नुपर्छ र नाती पुस्तालाई यसमा लाग्न दिनुहुँदैन भनेर छोरालाई विदेश पठाए, छोरालाई विदेश पठाउनुको कारण नातीनातिनीलाई पढाउनलाई नै हो ।’
नयाँ पुस्तामा यो पेशाप्रतिको आकर्षण समाप्त हुँदै गएको मात्र होइन, यसमा अहिले संलग्न रहेका मानिस पनि अन्य पेशामा वा वैदेशिक रोजगारीतिर पलायन हुने क्रम तीव्र छ । जसको उदाहरण हुन्, मरेबाकै ३२ वर्षीय मनोज पण्डित ।
श्रीमती भने माटोका सामग्री सुकाउन घाममा राख्दै थिइन् । मनोज वैदेशिक रोजगारीमा जाने तरखरमा छन् । यो पेशाले राम्रो जीवन बनाउन सकिँदैन भन्ने उनलाई लागेको छ ।
‘यो हाम्रो पुर्ख्यौली पेशा हो, यसलाई निरन्तरता दिनुपर्छ भनेर म पनि यसैमा लागो,’ उनले सुनाए, ‘तर, यसले नहुने भयो, अहिलेको युगमा पैसा र सम्पत्ति नभई नहुने चिज भयो, तर यो पेशामा त्यो हुँदै भएन ।’
तर, मनोज मनैभित्रबाट भने यो पेशा त्याग्न र विदेश जान चाहँदैनन् । उनी बाध्य भएर विदेशिन लागेका हुन् । मनोज पढेलेखेका पनि छन् । यही पेशालाई अहिलेको परिवेशसाग जोड्दै व्यवसायिक रुपमा विस्तार गर्नुपर्छ भन्ने सपना मनोजको थियो । तर, यसका लागि राज्यलाई कुर्दाकुर्दै उनको आशा अब मरिसकेको छ ।
‘हाम्रा बाउबाजे सबै यसैमा लाग्नुभयो, यसले हाम्रो आर्थिक हैसियत राम्रो हुन सकेको छैन,’ उनले भने, ‘यो पेशालाई व्यवसायिक रुपमा विकास र विस्तार गर्न मसाग अनेक तरिका छन्, तर त्यसका लागि पैसा चाहिन्छ, जुन हामीसाग छैन, सरकारले केही सोच्छ कि भन्ने आशमा उर्जावान समय बित्नै लाग्दा पनि केही भएन ।’
यो पेशा अहिलेको परिवेशमा समाजसेवा जस्तो मात्र भइसकेको उनको भनाइ छ । ‘माटोको सामग्री बनाउने विशिष्ट खालको सीप हो, यो सबैले सक्दैनन्,’ उनी भन्छन्, ‘समाजको आवश्यकता परिपूर्ति गरिदिनकै लागि भएपनि हाम्रो समुदाय अझै यसमा संलग्न छ जस्तो लाग्छ, तर यसरी जीवन जीउन गाह्रो हुने रहेछ ।’
राज्यको बेवास्ताका कारण अहिले यो पेशा संकटग्रस्त र लोप हुने अवस्थामा पुगेको पेशाले शिक्षक रहेका सिरहाका रामकुमार पण्डित बताउँछन् । ‘अहिले सरकारले विभिन्न क्षेत्रमा अनुदान र आर्थिक सहायताका लागि बजेट छुट्याउने गर्छ,’ उनले भने, ‘तर, यसका लागि भने सरकारले केही सोचेन, यसैकारण आज यो पेशा यस्तो दुरावस्थामा पुग्यो ।’
माटोको भााडोको प्रयोग स्वस्थकर हुने भन्दै यसमा संलग्नहरुको संरक्षण तथा यो पेशाको प्रवर्द्धनका लागि सरकार गम्भीर बन्नुपर्ने उनको सुझाव छ । यसका लागि राज्यले नीति नै बनाएर यसको व्यावसायिक रुपमा विकास र विस्तार गर्नुपर्ने उनले बताए ।
आर्थिक अभावमा यसमा संलग्न कोही पनि व्यावसायिक हुन नपाएको भन्दै उनले आर्थिक सहायता गरे वा उद्योग नै खोल्नका लागि सरकारले लगानी गरिदिए उनीहरुका लागि बरदान सावित हुने उनी बताउँछन् ।
‘अहिले सबै एकल रुपमा यसमा लागेका छन्, त्यसमा झन् उनीहरुसाग श्रोतसाधनको पनि निकै अभाव छ,’ उनले भने, ‘राज्यले नीतिगत तवरबाटै यसको सम्बोधन गरी यसमा संलग्नहरुलाई आर्थिक सहायता वा उद्योग नै खोलेर सामूहिक रुपमा लाग्न प्रेरित गर्नुपर्छ ।’
यो पेशाको व्यावसायिक रुपमा विकास एवं विस्तार भए यसले यसमा संलग्नको जीवनस्तर पनि फेरिने र देशको आर्थिक प्रगतिमा पनि योगदान हुने उनले तर्क गरे । ‘यो समुदायका करिब अधिकांश मानिससाग यस्तो सीप छ,’ उनले भने, ‘यो सीपको राज्यले सदुपयोग गर्न सके नागरिकको जीवन पनि फेरिन्छ, देशको प्रगति पनि हुन्छ ।’
तर, विभिन्न क्षेत्रमा अनुदान र आर्थिक सहायता दिने सरकारले कुम्हाल समुदायको माटोका भााडा बनाउने पेशालाई आधुनिकीकरण गर्न र व्यावसायिक रुपमा अगाडि बढाउनका लागि भने केही सोच्न सकेको छैन । स्थानीय सरकारले समेत यो अल्पसंख्यक समुदायको उत्थानको कुनै कार्यक्रम ल्याएको छैन ।
कर्जन्हा नगरपालिकाका प्रमुख भोलाप्रसाद पोखरेलले आफूहरुले अन्य सीपमूलक काम गर्नेहरुका लागि बजेट राख्ने गरेको भए पनि यसका लागि भने अहिलेसम्म नराखेको बताए । तर, उनले आफूले अबदेखि यो समुदायका केही गर्ने सोच बनाएको उनले बताए ।
‘हामीले चुरी लहठीहरु बनाउनेलाई सहयोग गरेका छौं, तीन चार ठाउामा राम्रो पनि भएको छ,’ उनले भने, ‘तर, कुम्हाल समुदायका लागि भने अहिलेसम्म नभए पनि अब केही गर्ने सोच बनाएको छु ।’ कुम्हाल समुदायको पेशा र उनीहरुले उत्पादन गर्ने चिज अत्यन्तै मौलिक खालको भएको र यसको बजारिकरण हुन सके राम्रो भविष्य रहेको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख किशोरीशरण यादव बताउँछन् ।
सीपमूलक पेशा र व्यवसायको प्रवर्द्धन तथा यसमा लागेकाहरुको वृत्ति विकासका लागि काम गर्नु आफ्नो कार्यालयको दायित्व पनि भएको र यसका लागि पनि आफूले लामो समयदेखि सोचिरहेको उनको भनाइ छ । आफूहरु अब चाँडै यो समुदायको विवरण संकलन तथा सम्भावनाका विषयमा काम थाल्न गइरहेको उनले बताए ।
पेशा छाडेर पलायन हुँदै कुम्हाल समुदाय
