मणिलाल विश्वकर्मा
लहान, २१ चैत्र । आर्थिक, सामाजिक र शैक्षिक रूपले पछाडि पारिएका मुसहर समुदायका बालबालिकाको शिक्षाका लागि सिराहाको लहान नगरपालिका क्षेत्रमा अगुवा मुसहर युवाहरूले समुदायकेन्द्रित शिक्षा सचेतना अभियान चलाएका छन् । ‘हमर बच्चा हमर प्राण, शिक्षामे दियौ योगदान’ अर्थात् ‘मेरो बच्चा मेरो प्राण, शिक्षामा दिऔँ योगदान’ भन्ने नारासहित मुसहर युवा सञ्जालको पहलमा मुलुककै सबैभन्दा ठुलो मानिएको लहान नगरपालिका क्षेत्रको मुसहर बस्तीकेन्द्रित शिक्षा सचेतना अभियान सञ्चालन गरिएको हो । उच्च शिक्षा अध्ययन गरिरहेका वा विभिन्न पेसा व्यवसायमा लागेका सचेत मुसहर युवाहरूको स्वयंसेवी अभियानअन्तर्गत हरेक शनिबार नगर क्षेत्रको मुसहर बस्तीमा स्थानीय अभिभावकहरूको भेला गरी शिक्षाको महत्व बुझाउने र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय पठाउन आग्रह गरिरहेको लहान २४ का अशोक सदायले बताए ।
गत कात्तिकको अन्तिम शनिबारदेखि लहान १२ जटियाहीबाट थालिएको अभियान मेनहर्वा, लग्राहा, बलानसैर, माणिकदह, कटहा, मोतीपुर मलहनमा, हरिनगरा र माधोपुर, मोतीपुर मलहन्मा, कालाबञ्जर, भोटिया टोल, सिसवनी, जहदी, पक्की टोल, तरेगना, बसाजोडीसम्म आइपुग्दा ११ वडाक्षेत्रका मुसहर बस्तीमा सञ्चालन गरिएको उनले बताए । उनका अनुसार हरेक शनिबार नगर क्षेत्रमा पर्ने कुनै मुसहर बस्तीमा पुगेर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरिएको छ । ‘अभियानको १२औँ चरणको २१ चैतसम्म लहानको १२, १५, १६, १७, १८, १९, २०, २१, २२ र २४ नं. वडा क्षेत्रका करिब नौ सय अभिभावकहरूलाई शिक्षाको महत्व बुझाउनुका साथै आÇना छोराछोरीलाई विद्यालय पठाउन सम्झाउने गरिरहेका छौँ,’ अगुवा लहान १ का धनिर सदायले भने । अभियानको क्रममा नगरअन्तर्गत २४ वडामा रहेका ६८ मुसहर बस्तीका करिब दुई हजार पाँच सय घरधुरीका अभिभावकहरूलाई भेट्ने योजना रहेको लहान १४ का राजेन्द्र सदायले सुनाए ।
हरेक समुदायमा निगरानी समूह
शिक्षासँगै स्वास्थ्य र सरसफाइसम्बन्धी कुराहरूसमेत बुझाउँदै हरेक शनिबार सञ्चालन गरिने अभियानले दीर्घकालीन रूपमा मुसहर समुदायको जीवनस्तर सुधार हुने अपेक्षा गरिएको उनले बताए । उनका अनुसार अभियानको क्रममा समुदायलाई राखेर कुराकानी गरिएपछि उनीहरूकै सहमतिमा हरेक बस्तीमा महिला पुरुष रहेको कम्तीमा पाँचसदस्यीय निगरानी समूहसमेत गठन गरिएको छ ।
‘समूहले बस्तीका हरेक घरबाट विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय गए÷नगएको निगरानी गर्ने, नगएको भए सम्झाउने, विद्यालयमा मुसहर बालबालिकालाई विशेष ध्यान दिन शिक्षक शिक्षिकाहरूलाई आग्रह गर्नेछन्,’ उनले भने, ‘त्यसबाहेक विद्यालय जान तयार भए पनि अभिभावकको नागरिकता नहुँदा समस्यामा रहेका बालबालिकाको हकमा वडा कार्यालयसँग समन्वय गरी जन्मदर्ता र अभिभावकको नागरिकताका लागि पहल गरिनेछ ।’
प्रायः गाउँब्लक, ऐलानी, पर्ती जग्गामा बस्दै आएका मुहसर समुदायको असुरक्षित बसोबासका कारणले नागरिकता नहुने र त्यस्ता बाबुआमाबाट जन्मिएका बालकालिकाको जन्म दर्ता नरहेको मुहसर समुदायका सामाजिक अभियानकर्मी बहादुर सदायले बताए । ‘बाबुआमाको नागरिकता नरहेका बालबालिकाको जन्मदर्ता बनाउन नै ठुलो संघर्ष गर्नुपर्छ,’ उनले भने, ‘जन्मदर्ता बनाएर विद्यालय भर्ना भएका मुसहर बालबालिकालाई टिकाउन गाह्रो छ ।’ त्यसका लागि नागरिकता, जन्मदर्ता बनाउने अभियानसँगै गरिबीमा बाँचिरहेका मुसहर समुदायलाई जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था गरिनुपर्नेमा जोड दिँदै उनले भने, ‘मुसहर बालबालिकाको शिक्षामा प्रदेश र स्थानीय तहले विशेष कार्यक्रम बनाएर लागू गर्नुपर्छ ।’
तीन बस्तीमा वैकल्पिक शिक्षा कार्यक्रम
विभिन्न कारणले विद्यालय छोडेका दलित तथा मुस्लिम बालबालिकालाई लक्षित गरी लहानको चार गाउँमा अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत लहान नगरपालिका १८ को बिसनपुर, शोभापुर, १३ नं. वडाको घलेटोल र डन्डा टोलमा शनिबारबाहेक दैनिक दुई घण्टा ट्युसन कक्षा चलाइएको हो ।
घरायसी कारण, गरिबीलगायतका कारणले विद्यालय छोडेर घरमै बसिरहेका बालबालिकाका लागि रोटरी क्लब अफ त्रिपुरेश्वर काठमाडौं र अस्ट्रेलियाको Çलेमिंटन केन्सिंटनको सहयोगमा गत फागुनदेखि नगरपालिकाको समन्वयमा लहानस्थित दलित जनकल्याण युवा क्लबको सहजीकरणमा दुवै गाउँमा अनौपचारिक तथा वैकल्पिक शिक्षाअन्तर्गत स्थानीय सहजकर्ताले बालबालिकालाई दैनिक दुई घण्टा पढाइरहेको क्लबका कार्यकारी निर्देशक विनोदकुमार बिसुन्केले बताए । उनका अनुसार वैकल्पिक शिक्षा पढिरहेका ६० जना बालबालिकाहरू स्थानीय सहजकर्ता, वडा कार्यालय र नगरपालिकाको समन्वयमा नजिकैको सामुदायिक विद्यालयमा भर्ना गरी नियमित पढ्न गइरहेको उनले बताए ।
त्यसबाहेक, दलित समुदायका मुसहर र गरिब विपन्न परिवारका बालबालिकालाई नगरपालिकाले स्टेसनरी सामग्री सहयोगस्वरूप नगरमार्फत आवश्यक कापी कलम बाँड्ने योजना रहेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । उनका अनुसार नगरका दलित बस्तीमा ट्युसन कक्षा सञ्चालनका लागि २९ जना सहजकर्ता भर्ना गरी २९ दलित बस्तीमा दैनिक ट्युसन कक्षासमेत सञ्चालन भइरहेको छ ।




