सुखिपुरमा पक्राउ प्रकरण : निर्दोष व्यक्तिलाई फसाइएको दाबी गर्दै पत्रकार सम्मेलन


सिरहा १५, फागुन । प्रहरीले एक निर्दोष व्यक्तिलाई पक्राउ गरिएको भन्दै उनका आफन्तजनले आज पत्रकार सम्मेलन गरी न्यायको माग गरेका छन्।

उनीहरूका अनुसार २०८२ फागुन ९ गते दिउँसो करिब ३:०० बजे सिरहाको सुखिपुर नगरपालिका–८ स्थित चेकजाँच प्वाइन्टबाट भारत, बिहार प्रदेश लदनिया थाना सिदपा गाउँ बस्ने मनोज कुमार साहलाई शस्त्र प्रहरी बल बेस क्याम्प सुखिपुरका डिएसपी विजय कुमार चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । प्रहरीले साहको साथबाट ५ लाख नेपाली रुपैयाँ, ९ हजार भारतीय रुपैयाँ, करिब ३७ तोला चाँदी, एक थान मोबाइल र एक थान मोटरसाइकल सहित पक्राउ गरेका थिए ।

 साहका आफन्त सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर – ८ बस्ने शम्भु कुमार पुर्वेका अनुसार करिब ४२ महिना अघि साहकी आमा बिरामी हुँदा उनले लहान–१ (हाल–७) स्थित नेमचन सारडा एण्ड सन्स पसलमा घरायसी सुनचाँदी गरगहना बन्दकी राखेका थिए । बन्दकी राखेको सुन छुटाउन नसकेर सोही पसलमा सुन बिक्री गरी ५ लाख रुपैयाँ लिएका र चाँदी बन्दकी फुकुवा गरेर घर फर्किंदै गर्दा प्रहरीले उनलाई बिच बाटोबाटै पक्राउ गरिएको सुनाए ।

अर्का आफन्त सिरहाको गोलबजार नगरपालिका वडा नम्बर – ६ बस्ने राकेश कुमार महतोका अनुसार नेपालमा गुणस्तरीय सुन पाइने भएकाले साहले उक्त पसलबाट सुन किन्ने गरेका थिए। “ नेपालमा गुणस्तरीय सुनचाँदी पाउने भएकोले अहिलेपनि धेरै भारतीय नागरिकले नेपालबाट सुन किन्ने गर्छन्। बिल–भरपाई देखाउँदासमेत प्रहरीले साहलाई पक्राउ गर्नु अन्याय हो,” उनले भने। अर्का आफन्त रामप्रकाश महतोले सुखिपुरबाट पक्राउ गरिएको व्यक्तिको मुचुल्का भने बरियारपट्टी बोर्डर क्षेत्रमा उठाइएको दाबी गरे। उनका अनुसार बरामद सामग्री संकलन गरेलगत्तै डिएसपी चौधरीले नगद तथा गरगहना कुम्ल्याउने नियतले तत्काल मुचुल्का नउठाई साहलाई छाड्ने प्रयास गरेको आरोप लगाएका छन्। उनले प्रहरीको गतिविधि शंकास्पद रहेको जिकिर गरे।

मनोज कुमार साह व्यापारी नभई किसान रहेको दाबी गर्दै बरामद गरिएका सम्पूर्ण सामान फिर्ता गरी उनलाई तत्काल रिहा गर्न आफन्तजनहरुले पत्रकार सम्मेलन मार्फत माग गरेका छन्। प्रमाणका आधारमा निष्पक्ष छानबिन नभए कानुनी उपचारका लागि डिएसपी चौधरी विरुद्ध अदालत जाने चेतावनीसमेत उनिहरुले दिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको