सिरहाका ४ क्षेत्रमा १ सय ३६ उम्मेदवारविभिन्न दल र स्वतन्त्र गरेर सिरहा–१ मा ३२, सिरहा–२ मा २९, सिरहा–३ मा ४१ र सिरहा–४ मा ३४ उम्मेदवार छन् ।


विनय आजाद
सिरहा, २४ माघ ।
सिरहाका ४ निर्वाचन क्षेत्रमा एक सय ३६ उम्मेदवारबीच संघीय सांसदकालागि प्रतिस्पर्धा भइरहेको छ । विभिन्न दल र स्वतन्त्र गरेर सिरहा–१ मा ३२, सिरहा–२ मा २९, सिरहा–३ मा ४१ र सिरहा–४ मा ३४ उम्मेदवार छन् । सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरी उम्मेदवार छन् । ०३६ मा नेविसंघमा आवद्ध भएर राजनीति सुरु गरेका चौधरी पहिलोपटक प्रतिस्पर्धामा छन् । एमालेले भने ०७९ मा यस क्षेत्रबाट बिजयी रामशंकर यादवलाई दोहो¥याएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पूर्वमन्त्री रामचन्द्र यादव उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई मैदानमा उतारेको छ । जसपा नेपालबाट सत्यनारायण यादव र जनमतबाट रामस्वरुप चौधरी उम्मेदवार छन् । लहान नगरपालिका, सखुवानन्कार कट्टीका–५, लक्ष्मीपुर पतारीका–५, भगवानपुराका–५ र धनगढीमाई नगरपालिकाका १ र २ गरी कुल ४१ वटा वडा यस क्षेत्रमा रहेका छन् । यहाँ ५८ हजार ८ सय ५५ पुरुष र ५३ हजार ९४ महिला मतदाता रहेका छन् ।
०७९ मा यस क्षेत्रमा समानुपातिक तर्फ कांग्रेसले १६ हजार ४ सय ८८, एमालेले १६ हजार ३ सय ३७ मत पाएका थिए । जसपा नेपालले १० हजार ४ सय ८१, जनमत पार्टीले ८ हजार १ सय ३८, नेकपा एकिकृत समाजवादीले ७ हजार ८ सय ६०, नागरिक उन्मुक्ति पार्टीले एक हजार ७ सय ८४, माओवादी केन्द्रले एक हजार ७ सय १३ र रास्वपाले एक हजार १८ मत प्राप्त गरेका थिए । सिरहा–२ मा कांग्रेसले रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ । ०७० मा संविधानसभा सदस्यमा निर्वाचित यादव अहिले जिल्ला सभापति हुन् । गत स्थानीय चुनावमा धनगढीमाई नगरपालिका प्रमुखमा चुनाव लडेर पराजित भएका थिए । रास्वपाबाट शिवशंकर यादव उम्मेदवार छन् । रास्वपा केन्द्रीय सदस्यको यो दोस्रो चुनाव हो । ०७९ मा यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेर ७ सय ९९ मत ल्याएका थिए । एमालेबाट नवीनकुमार यादव पहिलो पटक चुनावी मैदानमा छन् ।
जनमतबाट विनोदकुमार यादव उम्मेदवार छन् । ०७९ मा पनि उम्मेदवार बनेर १६ हजार ९ सय २ मत प्राप्त गरेका थिए । नेकपाबाट मुक्तिनारायण सिंह, जसपा नेपालबाट संजीवकुमार यादव र उज्यालो नेपालबाट ललितकुमार सिंह उम्मेदवार छन् । यस क्षेत्रमा नवराजपुर, बरियारपट्टी, औरही गाउँपालिका, अर्नमा गाउँपालिका ४ र ५, सुखीपुर नगरपालिका, धनगढीमाई नगरपालिका ३ देखि १४, लक्ष्मीपुरपतारी १ र गोलबजार नगरपालिका– १३ नम्बर वडा समावेश छन् । ०७९ मा समानुपातिकतर्फ जनमतले १७ हजार १ सय ६३, एमालेले १३ हजार ३ सय ८५, कांग्रेसले १२ हजार ३ सय ७८, जसपा नेपालले ११ हजार ९ सय २७, माओवादी केन्द्रले ७ हजार ५ सय ८३, एकीकृत समाजवादीले २ हजार ३ सय ९९ र रास्वपाले ७ सय ६ मत प्राप्त गरेका थिए ।
नयाँ पुराना उम्मेदवार
सिरहा–३ मा एमाले नेता लीलानाथ श्रेष्ठ दोहोरिएका छन् । तत्कालीन– सिरहा ६, बाट ०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसित पराजित उनी ०७४ र ०७९ मा सिरहा–३ बाट लगातार प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दुई पटक मन्त्री भइसकेका उनको यो चौथो निर्वाचन हो । कांग्रेसले चिकित्सक सुभाषचन्द्र यादवलाई उम्मेदवार बनाएको छ । उनी पूर्व कांग्रेस कोषाध्यक्ष सीतादेवीका छोरा हुन् । उनी पहिलोपटक उम्मेदवार बनेका हुन् ।
जसपा नेपालले अशेश्वर यादवलाई उम्मेदवार बनाएको छ । मधेश आन्दोलनबाट परिचित उनी ०७४ मा एमालेका श्रेष्ठसँग झिनो मतान्तरले हारेका थिए । नेकपाले पूर्व मन्त्री विश्वनाथ साह, जनमतले रोहित महतो, रास्वपाले शम्भुकुमार यादवलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा सिरहा नगरपालिका, गोलबजार नगरपालिकाका १ देखि १२, विष्णुपुर गाउँपालिका, अर्नमा गाउँपालिका १ देखि ३ र नरहा गाउापालिकाका १ र २ वडा छन् । ०७९ मा समानुपातिक तर्फ कांग्रेसले १६ हजार १ सय ४३, एमालेले १५ हजार ५ सय ९८, जनमतले १० हजार १ सय ७७, माओवादी केन्द्रले ८ हजार ४ सय ८५, जसपा नेपालले ७ हजार ९ सय ६०, एकीकृत समाजवादीले ६ हजार ८ सय १८, राप्रपाले १५ सय ८२ र रास्वपाले ७ सय ३१ मत प्राप्त गरेका थिए ।
पाँच पूर्वमन्त्री मैदानमा
सिरहा–४ जिल्लामै सबैभन्दा चासोको क्षेत्र बनेको छ । यहाँबाट पाँच पूर्वमन्त्री प्रतिस्पर्धामा छन् । जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव उम्मेदवार छन् । मधेश आन्दोलनबाट उदाएका यादव ०६४ यता तीन पटक सांसद र दुइ पटक मन्त्री भइसकेका छन् । ०६४ मा तत्कालीन सिरहा–६, बाट संविधानसभा सदस्य निर्वाचित उनी ०७० मा पराजित भएका थिए । ०७४ चुनाव सिरहा–४ बाट जितेका उनी ०७९ मा सिरहा–२ बाट बिजयी भएका थिए । यसपटक सिरहा–४ मै फर्किएका हुन् । जनमतबाट वीरेन्द्रप्रसाद महतो उम्मेदवार छन् । ०७० मा जसपा नेपालबाट समानुपातिक सांसद बनेका उनी जसपा नेपालबाट ०७९ मा सिरहा– ४ बाट चुनाव जितेर मन्त्री बनेका थिए । यसपाली चुनावको मुखैमा जनमत पार्टी प्रवेश गरेर उम्मेदवार बनेका हुन् ।
नेकपाले अजयशंकर नायकलाई उम्मेदवार बनाएको छ । उनी एक पटक समानुपातिक सांसद र एक पटक मन्त्री भइसकेका हुन् । ०७४ मा सिरहा–४ मा पराजित उनी प्रत्यक्षतर्फ दोस्रो पटक प्रतिस्पर्धा गरिरहेका हुन् । एमालेबाट धर्मनाथ प्रसाद साह उम्मेदवार छन् । उनी पूर्व मन्त्री हुन् । एक पटक समानुपातिक सांसद हुँदै मन्त्री भएका विश्वेन्द्र पासवान बहुजन शक्ति पार्टीबाट उम्मेदवार बनेका छन् । कांग्रेसले चन्द्रकला यादवलाई उम्मेदवार बनाएको छ । गत स्थानीय तह निर्वाचनमा विष्णुपुर गाउँपालिका उपाध्यक्षमा पराजित भएकी थिइन् । रास्वपाबाट तपेश्वर यादव उम्मेदवार छन् । रास्वपा मधेश प्रदेश सभापति रहेका उनी पहिलोपल्ट चुनाव लडिरहेका हुन् । उज्यालो नेपालबाट विनय प्रवीण उम्मेदवार छन् ।
०७९ मा जनमतले १६ हजार १ सय ६०, जसपा नेपालले १० हजार ८ सय ५१, एमालेले ९ हजार १ सय ७, माओवादी केन्द्रले ६ हजार ६ सय ६५, कांग्रेसले ६ हजार २ सय १९, लोसपाले ३ हजार ७ सय ७९, नेकपा एसले ३ हजार ८६, रास्वपाले १८ सय १ र राप्रपाले १४ सय ७८ मत प्राप्त गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको