सुरेन्द्रकुमार कामती
सिरहा, १९ माघ । सहिद सांसद हेमनारायण यादवको २२ औँ स्मृति दिवसमा दोषीलाई कारबाही नभएको भन्दै पार्टी नेतृत्वमाथि प्रश्न उठेको छ । स्मृति दिवस अवसरमा आयोजित कार्यक्रममा सांसद यादवका पुत्र सिराहा नगरपालिकाका मेयर डा. नवीन यादवले एमाले पार्टी पटकपटक सरकारको नेतृत्व गरे पनि आÇनो परिवारले न्याय पाउन नसकेको बताएका छन् । आफूहरू २२ वर्षदेखि न्यायको प्रतिक्षामा रहेको भन्दै मेयर डा .यादवले सहिदको दोषीलाई कारबाही किन भएन भनेर प्रश्न गरेका छन् ।
’नेकपा एमाले किन पार्टी मौन छ। आयोग बन्यो, संसदमा कुरा उठ्यो, तर दोषीलाई कारबाही किन भएन,’ उनले भने, ’देशमा धेरै सहिद भयो, सहादत भयो तर अपहरण गरी हत्या गरेर नदीकिनारामा शव फालियो। दोषी पहिचान भएर कारबाही भएन ।’ स्मृति दिवसलाई सम्बोधन गर्दै एमाले प्रदेश इन्चार्ज पूर्वमन्त्री लीलानाथ श्रेष्ठले आसन्न निर्वाचनमा पार्टीका सबैले सक्रियता देखाउँदै सफल बनाउन अह्वान गरेका छन् । सिराहा क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका श्रेष्ठले परिवारजनले न्याय पाउने दावी गर्दै अहिले निर्वाचनको माहौल भएकोले एमालेलाई जिताएर देशलाई समृद्ध बनाउनुपर्ने वेला भएको बताए । स्मृति दिवसमा एमालेका जिल्लाभरका नेता कार्यकर्ता, निर्वाचनमा उम्मेदवार भएकाहरूको सहभागिता रहेको थियो ।
रक्तदान र फलफूल वितरण
स्मृति दिवसको अवसरमा सहिद हेमनारायण यादवको प्रतिमामा माल्यार्पण गरिएको छ । सदरमुकाम सिराहाको हेमनारायण चोकमा रहेको प्रतिमामा एमाले नेता–कार्यकर्ताहरूले माल्यार्पण गरेका छन् । दिवसको अवसरमा २५ जनाले रक्तदान गरेका छन् । प्रादेशिक अस्पताल सिराहामा उपचाररत रोगीहरूलाई फलफूल पनि वितरण गरिएको छ । अस्पतालमा उपचारत ८० जनालाई फलफूल वितरण गरिएको थियो । २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचित सांसद यादवलाई २०६० साल माघ १९ गते नेपाली सेनाको टोलीले अपहरण गरि गोली हानेर हत्या गरेको थियो । तत्कालीन सिराहाको चोहर्वामा रहेको नेपाली सेनाका कर्नेल बाबुकृष्ण कार्कीको निर्देशनमा सांसद यादवलाई गागन नदीको पुलबाट अपहरण गरी हत्या गरिएको थियो । घटनाको छानबिन संसदीय टोली र विभिन्न मानव अधिकारवादी समूहले अलग–अलग रूपमा अनुसन्धान गर्दै कर्नेल कार्कीलाई दोषी देखाएको एमाले युवा नेता दिनेश यादवले बताए ।




