आफनै भवनबाट वडा र स्वास्थ्य चौकीको सेवा प्रवाह


सिरहा, २६ असार । जनसंख्या र भूगोलका हिसाबले जिल्लाकै सबैभन्दा ठुलो स्थानीय तहको रूपमा रहेको सिराहाको लहान नगरपालिका– १२, पडरिया थारूटोलस्थित नयाँ भवनबाट वडा कार्यालय र स्वास्थ्य चौकीको सेवा प्रवाह थालनी गरिएको छ । नगरपालिकाको समपूरक कोष र संघीय सरकारको अनुदान गरी ७५ लाख रुपैयाँको लागतमा निर्मित दुईतले भवनबाट बिहीबार एक समारोहबिच नगर प्रमुख महेशप्रसाद चौधरी र वडाध्यक्ष बद्रीनारायण चौधरीले संयुक्त रूपमा रिबन काटेर सेवा प्रवाहको थालनी गरेका हुन् । नवनिर्मित भवनको भुइँतलामा स्वास्थ्य चौकी र माथिल्लो तलामा १२ नं. वडा कार्यालयको सेवा प्रवाह थालिएको हो ।
भवनको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले लहान नगरपालिकाअन्तर्गतका २४ वटै वडा कार्यालयले आÇनै भवनबाट सेवा प्रवाह गर्ने गरी काम गरिरहेको बताए । ‘१२ नं. वडा क्षेत्रका सेवाग्राही नागरिकले पनि वडाको आÇनै भवनबाट सेवा लिन पाउनेछन्,’ उनले भने, ‘यो भवन सबैको साझा उपलब्धि हो, अब एउटै भवनबाट स्वास्थ्य र प्रशासनिक सेवा लिन सकिनेछ ।’ उनका अनुसार स्थानीय तहको दोस्रो निर्वाचनपछि तीन वर्षको अवधिमा १३ वटा वडा कार्यालयको भवन निर्माण गरी आफनै भवनबाट सेवा प्रवाह भइरहेको र आगामी आव ०८२÷८३ मा थप पाँचवटा वडा कार्यालय भवन निर्माण सम्पन्न गरी सेवा दिन थालिनेछ ।
गत आर्थिक वर्ष ०८०÷८१ देखि उपभोक्ता समितिमार्फत भवन निर्माण थालिएको वडाध्यक्ष बद्रीनारायण चौधरीले बताए । ‘पहिलोपटक वडाध्यक्ष निर्वाचित भएको ०७४ सालदेखि नै वडा कार्यालय भवनको पहल थालेको थिएँ, आठ वर्षपछि बल्ल आÇनै भवन भयो,’ उनले भने । आÇनै भवन नहुँदा यसअघि भाडाको घरमा दुईवटा कोठाबाट सेवा प्रवाह गर्दा भोग्दै आएको कठिनाइ अन्त्य भएको उनले बताए ।
स्वास्थ्य चौकी पडरिया थारू टोलका प्रमुख अरविन्दकुमार चौधरीले वर्षौँ पुरानो जीर्ण भवनको दुईवटा कोठाबाट सेवा दिन समस्या झेलिरहेका वेला नयाँ भवन बनेपछि स्वास्थ्य सेवा सहज र प्रभावकारी बन्ने बताए । ‘बर्खामा छत चुहिने, वेलावेलामा छतको प्लास्टर उप्किएर झर्ने समस्याले हैरान भएका थियौँ,’ उनले भने, ‘एउटा कोठामा गर्भवती जाँच र अर्को कोठामा स्टोर, चौकीका कागजात राख्न, बिरामी जाँच्न भोग्दै आएको समस्या हटेको छ ।’ उनका अनुसार नयाँ भवनमा गर्भवती जाँच, परिवार नियोजन सेवा, प्रशासन, बिरामी जाँच, ड्रेसिङ, बाल रोग उपचारका लागि छुट्टाछुट्टै वार्डको व्यवस्था गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको