शम्भु यादव
सिरहा, २ जेठ । गर्मीले पढाइ प्रभावित हुन थालेपछि सिरहाको लहान नगरपालिकाले नगरभरिका सामुदायिक विद्यालयमा पङ्खा जडान सुरु गरेको छ । विद्यालयका प्रधानाध्यापकलाई कक्षाकोठाको सङ्ख्या अनुसार सिलिङ पङ्खा वितरण गरिएको मेयर महेश चौधरीले जानकारी दिए । पहिलो चरणमा ३३० थान पङ्खा वितरण गरिएको उनले बताए । लहान नगरपालिकामा ५९ वटा सामुदायिक विद्यालयमा १७ वटा मावि र ४२ वटा आधारभूत विद्यालय रहेका छन् । कक्षाकोठामा पङ्खा नहुँदा गर्मी मौसममा विद्यार्थीहरू पढाइ नै छाड्ने गरेको नगरपालिकाले जनाएको छ । एक कक्षा, एक पङ्खा हुनुपर्ने उद्देश्य राखेर पङ्खा वितरण गरिएको मेयर चौधरीले बताए । पङ्खा नपुगेका विद्यालयमा पुनः वितरण गर्ने तयारी भइरहेको उनको भनाइ छ ।




