ढोढनाको राजदेवी मन्दिरमा चण्डी पूर्णिमा मेला, बिहानैदेखि भक्तजनको भिड


लहान, २९ बैशाख । सिराहाको लहान नगरपालिका–१५, ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरपरिसरमा चण्डी पूर्णिमाको अवसरमा पशुबलीसहित भव्य मेला लागेको छ । पूर्व–पश्चिम लोकमार्गमा पर्ने लहानबाट करिब १० किलोमिटर उत्तरमा चुरे जंगलको फेदीमा रहेको मन्दिरपरिसरमा सोमबार बिहानदेखि हजारौँको संख्यामा पशुपक्षीको बली दिइएको छ । राजदेवी पञ्चावती मन्दिर संरक्षण विकास समितिका सचिव वीरेन्द्र चौधरीका अनुसार रातिसम्म करिब २० हजार बोका बली चढाइने अनुमान छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्तीको दिन राजदेवीको भाकल अनुसार पूजाअर्चना गरे सन्तान प्राप्ति, रोगव्याधीबाट मुक्ति र मनोकांक्षा पूरा हुने श्रद्धालुहरू बलि चढाउन र पूजाअर्चना गर्न आउने गरेको उनले बताए ।
मनोकांक्षा पूरा भएपछि भाकलअनुसार पूजा गर्न पूर्णिमाको दिन बिहान सबेरैदेखि मन्दिरपरिसर र वरिपरिका खेतहरूमा हजारौँ दर्शनार्थीको भिड लाग्ने गर्छ । श्रद्धालुहरूले आ–आÇनो भाकलअनुसार परेवा, हाँस, कुखुरासमेत चढाउने गरेको समितिले जनाएको छ । मेलाको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरी प्रहरी परिचालन गरिएको स्थानीयसमेत रहेका लहान–१५ का वडाध्यक्ष तेजनारायण चौधरीले बताए । त्यसबाहेक मन्दिरपरिसरमा करिब पाँच सयको संख्यामा स्वयंसेवक परिचालन गरिएको उनले बताए । उनका अनुसार मन्दिरवरिपरिका थारू बहुल बानो, खोरिया टोलसहित आठवटा गट्टीअन्तर्गत पर्ने ढोढना, शोभापुर, वीरनगरलगायतका गाउँहरूमा आदिवासीहरू आफूलाई बुद्धकै वंशज दबी गर्छन् । मन्दिरमा पशुपछीको बली दिन सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्य अन्तर्गत उत्तरी क्षेत्रका दर्शनार्थीहरू चण्डी पूर्णिमाको अघिल्लो मध्यरातदेखि नै पूजाका लागि लाम लाग्ने गर्छन् ।
वार्षिक ४० भन्दा लाख बढी दक्षिणा संकलन
मधेश प्रदेशमा गढीमाईपछि सबैभन्दा बढी बलि दिइने मन्दिरको रूपमा रहेको राजदेवी पञ्चावती मन्दिरमा चण्डी पूर्णिमाको दिन लाग्ने विशेष मेलासहित हरेक दिनजसो आउने भक्तजनले चढाएको दक्षिणा रकम ४० लाखभन्दा बढी संकलन हुन थालेको मन्दिर विकास समितिका सचिव चौधरीले बताए । उनका अनुसार त्यसरी संकलन भएको दक्षिणा रकमको ६० प्रतिशत मन्दिरको भौतिक पूर्वाधार विकास र ४० प्रतिशत अन्य सामजिक कार्यमा लगाउने गरिएको छ । मुख्य मन्दिरको वरपर करिब सात बिघा जग्गा रहेको मन्दिरपरिसर बाहिर आÇनो जग्गामा राजदेवी दह निर्माणसहित सौन्दर्यीकरण भइरहेको समितिले जनाएको छ । समितिका अनुसार मन्दिरको धर्मशाला निर्माणका लागि सिराहा–३ का प्रतिनिधिसभा सदस्य लीलानाथ श्रेष्ठको पहलमा १० लाख, सिराहा १ (क) का मधेश प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीको निर्वाचन विकास कोषबाट २५ लाख र पूर्व प्रदेश सभा सदस्य लगनलाल चौधरीले १२ लाख रुपैयाँ सहयोग गरेपछि करिब पाँच सयजना क्षमताको सभा हल र धर्मशालासमेत निर्माण भइसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको