लहान, ८ फागुन । सप्तरीको राजगढ गाउँपालिका र रौतहटको परोहा गाउँपालिकामा छुट्टाछुट्टै रुपमा पोषणयुक्त नमूना गाउँ परियोजना– दोस्रो चरणको सामाजिक परीक्षण गरिएको छ । दुवै पालिकाको सामाजिक परीक्षण कार्यक्रममा सहभागी लक्षित समूहका सदस्य तथा सरोकारवालाहरुले कार्यक्रमले पोषणको क्षेत्रमा उल्लेखनीय सुधार भएको चर्चा गर्दै कार्यक्रम निरन्तरताका लागि आग्रह गरे ।
राजगढ गाउँपालिकाको सभाकक्षमा ६ फागुनमा आयोजित लेखाजोखा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झाले स्वस्थ्य रहन स्वच्छ र पोषिलो खानेकुरा खान, सरसफाइसहित प्रांगारिक ढंगले खेतीपाती र तरकारी सागपात उब्जाउन किसानलाई सिकाएको सीप ज्ञान उल्लेखनीय रहेको औंल्याए । ‘त्यसले गाउँपालिका क्षेत्रमा कुपोषणको दर घटाउन ठूलो भूमिका खेलेको छ’ उनले भने ‘परियोजनाको अवधि सकिएपछि पालिकाले पनि त्यसका लागि काम गर्नेछ ।’
समुदाय स्तरमा गठन गरिएका समूहहरुलाई कानुनी पहिचानका लागि दर्ता गरिएको जानकारी दिंदै उनले कुनै वडाबाट छुटेको भए पुनः दर्ता गरिने प्रतिबद्धता जनाए । ‘त्यति गर्दा आगामी दिनमा पालिकासँग सहकार्य गरेर काम गर्न सहज हुन्छ’ उनले भने ‘त्यसबाहेक जिल्ला स्तरीय विषयगत कार्यालय, कृषि ज्ञान केन्द्र, प्रादेशिक कार्यालयहरुसँग पनि सहकार्य गर्ने आधार हुन्छ ।’
कार्यक्रममा राजगढ ५ मलेकपुरका अगुवा किसान बद्री शर्माले परियोजना अन्तर्गत आफूले पनि काम गरेको सुनाउँदै कार्यक्रमले तरकारी खेतीका लागि छिमेकी भारतीय बजारमा निर्भर विषादी खरिद र प्रयोग ६० प्रतिशतले घटेको बताए । ‘रसायनिक मलको सट्टा आफैंले पालेको गाइबस्तुको गोबर, झारपातबाट बनाइएको प्रांगारिक मल, बस्तुभाउको मूत्रसहित विषादीजन्य जडीबुटीबाट बनाइएको जैविक विषादी प्रयोग गर्न थालेका छौं’ उनले भने ‘कार्यक्रमले एक घर एक करेसाबारीको अवधारणा अनुसार प्राय किसानले आफ्नो घर छेउछाउ तरकारी, सागपात उब्जाएर सेवन गर्दा कुपोषणको दर घटाउन मद्दत पुगेको छ ।’
कार्यक्रममा फकिरा गाउँकी मञ्जुदेवी मण्डल, दोरिकलाल यादव, शम्भु शर्मा, ललिता पासवान, सुशीलादेवी साह, स्वास्थ्यकर्मी मो. जुही खान, महिला स्वास्थ्य स्वयम्सेविका मिनादेवी यादव, मलेकपुर स्वास्थ्य चौकी प्रमुख वैद्यनाथ ठाकुर लगायतले परियोजनाले पालिका क्षेत्रमा घटेको कुपोषणको दर बढ्न नदिन पालिकाले आफ्नो बजेट र कार्यक्रममा पोषणलाई पनि समावेश गर्नुपर्नेमा जोड दिंदै समूहका सदस्यहरुले पोषण सम्बन्धी जानेको सीप ज्ञान आफूले व्यवहारमा प्रयोग गर्दै अन्यलाई पनि सिकाउन आग्रह गरे ।
त्यस्तै, रौतहटको परोहा नगरपालिकाको लौकाहास्थित नगरकार्यपालिका सभाकक्षमा ४ फागुनमा आयोजित सामाजिक परीक्षण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मो. महफुज अहमदले परियोजना संचालनपछि पालिका क्षेत्रमा कुपोषणको दर घटेको औंल्याउँदै त्यसलाई बढ्न नदिन पालिकाले पनि पहल गर्नुपर्नेमा जोड दिए । ‘त्यसका लागि नगरसभामा पालिका अन्तर्गतका वडाहरुले कम्तिमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म बजेट र कार्यक्रमसहितको योजना पेश गर्नुहोस्’ उनले भने ‘बेजट कार्यक्रम छुट्याउन मेरो पनि पहल रहने छ ।’
परियोजना बन्द भएपछि संचालित पोषण सम्बन्धी काम कुनै न कुनै रुपमा संचालन गर्ने दायित्व नगरपालिकाको रहेको चर्चा गर्दै उनले अन्यथा घटेको कुपोषणको संख्य पुनः बढ्न सक्नेतर्फ सचेत रहनु पर्ने उल्लेख गरे । ‘स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्यर्की, महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भूमिकाले कुपोषण शून्यमा झार्न नसकेपनि न्यूनीकरण गर्न सकिन्छ’ उनले भने ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जलन्धर प्रसाद यादवले परियोजना संचालनले पोषण, सरसफाइ, करेसाबारी जस्ता विषयमा जागरुकता बढेको बताए । बच्चा जन्मिएपछि दुई वर्षको उमेरसम्म २४ पटक स्वास्थ्य संस्थामा नापजोख गर्न लैजानु पर्छ भन्ने कुरा बुझाउन चुनौती रहेको सन्दर्भमा नापजोखले आफ्नै बच्चाको पोषणको लेखाजोखा हुन्छ भन्ने कुरा बुझाउन सफल भएको औंल्याए । परियोजना अन्तर्गत संचालित विभिन्न क्रियाकलापले पालिका क्षेत्रमा घटेको कपोषणको दर बढ्न नदिन स्वास्थ्य शाखाले अधिकतम् प्रयास गर्ने उनको भनाइ थियो ।
कृषि शाखा प्रमुख मुकेश कुमार साहले परियोजना अन्तर्गत ५ नं. वडाको भेडियाहीमा संचालित बीउ बैंक समूह, ७ नं. वडामा भर्मी कम्पोष्ट मल उत्पादन भइरहेको बताए । बीउ बैंकमार्फत् पालिकाको सहयोगमा नगर क्षेत्रभर सबै प्रकारका बीउविजन वितरण गर्न सकिने गरी विकसित गरिनु पर्ने उनले बताए । कार्यक्रममा अगुवा कृषक डोमन महतो, सुनैनादेवी महतो, ललितादेवी दास, रेश्मीकुमारी साह लगायतले परियोजनाले पोषणको क्षेत्रमा समुदायमा ल्याएको परिवर्तनको प्रशंशा गरे ।
परियोजना संयोजक अमितराज साहले परियोजना अन्तर्गत संचालित क्रियाकलापहरुको बारेमा संक्षिप्त रुपमा चर्चा गरेका थिए । राजगढ र परोहा दुवै पालिकामा पत्रकार समेत रहेका सामाजिक परीक्षक मणिलाल विश्वकर्माले परियोजना अन्तर्गत समुदायमा संचालित मुख्य क्रियाकलाप र उपलब्धिहरु, चुनौती तथा सिकाई, समुदाय र सरोकारवालाहरुले दिएको सुझाव तथा सिफारिश सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
आर्थिक सहयोग तथा विकासका लागि संघीय मन्त्रालय, जर्मनी (द्यःश्)÷वेल्टहँगरहिल्फे (ध्ज्ज्) को सहयोग तथा फरवार्ड नेपालको प्राविधिक सहयोगमा पहिलो र दोस्रो चरणमा गरी राजगढमा सन् २०१८ सेप्टेम्बरदेखि २०२५ फेब्रुअरीसम्म ४९ र परोहामा ५४ गरी कुल एक सय तीन गाउँमा खाद्य तथा पोषण सुरक्षा अभिबृद्धिका लागि विभिन्न क्रियाकलापहरु संचालित गरिएको थियो । खाद्य असुरक्षा तथा संकटासन्न घरपरिवारमा खाद्य तथा पोषणको अवस्था सुधार गरी पोषणयुक्त नमूना गाउँको रुपमा विकास गर्न घरधुरी तथा समुदाय स्तरमा पोषण, खानेपानी, सरसफाइ र स्वच्छता, पोषण संवेदनशील एकीकृत कृषि प्रणाली, पोषण संवेदनशील गाउँ सूक्ष्म योजना, संस्थागत सवलीकरण तथा पोेषण तथा पुनस्र्थापना कार्यक्रम संचालन गरिएको थियो ।
परोहा र राजगढमा पोषणयुक्त नमूना गाउँ परियोजनाको सामाजिक परीक्षण
