मिथिलेश यादव

मधेसमा केही दशक अघिसम्म स्वयंवर संस्कार (स्वयं वर चुन्ने) अनुसार विवाह छिनोफानो हुन्थ्यो । राजा जनकको यो परम्परा चल्दासम्म केटी पक्षकै बोली बिक्थ्यो । केटी पक्षकै सर्तअनुरूप केटा पक्ष विवाहका लागि राजी हुन्थे। केटा पक्षबाट बेहुली (छोरी) असुरक्षित हुने अवस्था थिएन । अहिले भने समय उल्टिएको छ । केटा पक्षको सर्तअनुरूप केटी पक्ष विवाहका लागि बाध्य हुनुपर्ने अवस्था छ । केटा पक्षबाटै केटी (छोरी) असुरक्षित हुनुपर्ने विडम्बनापूर्ण अवस्था छ । दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपछि पनि हत्या गरिने जस्तो जघन्य अपराध निरन्तर हुँदै आएका छन् । दाइजोको निहुँमा मरिने पछिल्लो पात्र हुन्, जनकपुरधाम उपमहानगरपालिका– ९, थापाचोककी २२ वर्षीया आरती साह । दाइजोको निहुँमा मारिएकी छोरी आरतीको न्यायका लागि निर्मला साह झन्डै ९ महिना काठमाडौंको सडकमा भौंतारिन बाध्य भइन् । बुधबार सरकारसँग आरतीको घटनाबारे थप अनुसन्धान गरी अदालतमा प्रमाण पेस गर्नेलगायतका विषयमा पाँच बुँदे सहमतिपछि आशा बोकेर निर्मलासहित आरतीका परिवार घर फर्केका छन् ।
मधेस प्रदेशमा दाइजो कारण हत्या मात्र होइन विवाह नै रोकिएका थुप्रा घटना छन् । जसको पछिल्लो पीडित हुन् वीरगन्जस्थित सुखल साह। विवाहको रौनक र उत्साहले वीरगन्ज महानगरपालिका–२४ रानीघाट टोल सोमबारको साँझ उल्लासमय थियो । स्थानीय सुखल साहकी छोरी रमिताको विवाहको भव्य तयारी थियो । भव्य पन्डाल, लाइट र लाउडस्पिकरले उल्लास थपेका थिए । स्वयंवर मञ्च र विवाह मण्डप (मडवा) समेत तयार थिए । परिवार, छरछिमेक र आफन्त नयाँ पहिरनमा सजिएका थिए । घरमा कोही गीत गाउँदै थिए भने कोही नाँच्दै थिए ।
सजिएकी बेहुली रमिता पनि जीवनसाथी पाउने उल्लासले गदगद थिइन् । जन्तीलाई नास्ता खुवाउन मिठाइसहितका परिकार प्याक गरेर राखिएको थियो भने खानाका लागि परिकार तयार थिए । नाच्दै जन्ती आए । बरमाला सम्पन्न भयो । नास्ता वितरण भयो । जन्तीहरू आआÇनो स्थानमा आराम गर्न थाले । आँगनमा तयार पारिएको मडवामा वैवाहिक कार्यक्रम सुरुवात भयो । महिलाहरू मौलिक गीतमार्फत वैवाहिक कार्यक्रमलाई अझ रोमाञ्चक बनाइरहेका थिए । सबै खुसी देखिन्थे । तर, यो खुसी धेरै बेर टिक्न पाएन । बेहुला पक्षले सुनको चेन नदिए वैवाहिक कार्यक्रम अगाडि नबढ्ने अड्डी कसे ।
बेहुली पक्षले सुरुवातमा यसलाई मजाकको रूपमा लिँदै बेहुला पक्षलाई मनाउने प्रयास गरे । तर, बेहुला पक्ष टसमस भएनन् । साह परिवारको खुसी रुवावासीमा परिणत भयो । रमिताकी बुवा सुखलले भने, ‘हामीले बेहुला पक्षले मागेजति दाइजो पु¥याइसक्दा पनि विवाहको बेला सुनको चेन थपिदियो । अहिले छैन पछि यो पनि दिन्छौं भन्यौं । विवाह अघि बढाउनुस्, हामी चेन पनि पु¥याउँछौं भनेर बिलौना ग¥यौं तर मानेनन् । बिहे छाडेर मडवाबाट बेहुला उठेर गइहाले ।’ बारा कलैया उपमहानगरपालिका–४ सिनेमाचोक बस्ने उमेश साहसँग रमिताको विवाह हुँदै थियो । साह वीरगन्ज महानगरपालिकामा कम्प्यूटर अपरेटर पदमा करार सेवामा कार्यरत छन् । साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकलबापत तीन लाख २५ हजार, एक थान ल्यापटप, एक थान सुनको औंठी र सुनको लकेट पाइसकेपछि विवाहका लागि जन्ती लिएर रमिताको घर पुगेका थिए । तर, मण्डपमा सुनको सिक्री नपाएपछि बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका थिए ।
वरमाला तथा विवाहको सुरुवाती रिवाज ‘पर्छावन’ भइसकेपछि बिहेका लागि बेहुला मण्डप(मरबा)मा पुग्दा विभिन्न प्रकारका बहाना बनाउँदै करिब २ बजे राति बेहुलाले विवाह रद्द गरिदिएका थिए । २४ बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चोक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग विवाह तय भएपछि रमिताका बुवा सुखलले साहुसँग ऋण काढेर दाइजो रकम भुक्तान गरेका थिए । ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गरेका सुखल छोरीको विवाह रद्द भएपछि विक्षिप्त भएका छन् । साहुसँग चर्को ब्याजमा ऋण काढेर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि सुखल थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न पन्डालदेखि राम्रो खाना नास्ताको पनि व्यवस्था गरेको भए पनि लगभग ५० हजारको सिक्री नपाउँदा बेहुलाले मण्डपबाट भाग्न खोज्दा झडप पनि भएको सुखलले बताए ।
‘हामी भन्दै थियौं, पैसाको व्यवस्था भएन । विवाहपछि सिक्री पनि दिन्छु । तर, बेहुला पक्षले मानेनन्,’ सुखलले भने । जति मनाए पनि नमान्दा बेहुला पक्षले कुटपिटमा समेत उत्रेपछि प्रहरी आइपुग्यो र बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि पक्राउ गरेको छ । विवाह रद्द भएपछि आँसुमा डुबेकी रमिता अब उमेशसँग विवाह नगर्ने बताइकी छिन् । उनी भन्छिन्, ‘सिक्रीको अडानले विवाहको मण्डप छोड्नेले भोलि जे पनि गर्न सक्छन् । अब त्यो घर मेरा लागि विवाह गर्न सुरक्षित छैन,’ उनले भनिन् । स्थानीय केही व्यक्तिले सिक्री दिएर पनि बिहे गर्न सुझाव दिइरहेका छन् । तर, अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडानमा छन् रमिताको परिवार । एउटा सिक्रीको लोभमा विवाह नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन् दाइजोको निहुँमा छोरीको ज्यान पनि लिन सक्ने रमितको परिवार बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बेहुलासहित पाँचजनालाई पक्राउ गरी दाइजो कसुरको मुद्दामा जिल्ला अदालत पर्साबाट अनुसन्धानका लागि दुई दिनको म्याद लिएको बताए । छोरीलाई सुखसयल र आफूभन्दा धनाढ्य घरमा विवाह गर्ने प्रवृत्तिले केटा पक्ष दाइजोमा हाबी हुन्छन् । भ्रुण हत्या, महिला हिंसा र महिला उत्पीडनको मुख्य जड नै दाइजो हो । ‘दाइजोकै कारण छोरीलाई बोझ ठान्ने थुप्रै छन्,’ महिला अधिकारकर्मी श्यामकुमारी साहले भनिन्, ‘छोरीको पालनपोषण तथा शिक्षादीक्षामा समेत भेदभाव गरिन्छ ।’ उनका अनुसार दाइजोकै कारण मधेसमा कोख (गर्भ) मै छोरीको भू्रण हत्या गराउने बढ्दै छन् । कतिपयले छोरीको विवाहलाई जीवनकै प्रतिष्ठा बनाएर घर–खेतसमेत बेचेका छन्, बेच्दै छन् ।
मंसिर लागेदेखि विवाहको माहोल उत्कर्षमा छ । तामझामका साथ हुने दाइजो विवाहमा प्रदेश सरकारका मन्त्रीदेखि सांसद र स्थानीय सरकारका प्रतिनिधिको उत्साहपूर्ण सहभागिता देखिन्छ । यसले दाइजो निरुत्साहनभन्दा पनि प्रोत्साहन भइरहेको सामाजिक अभियन्ताको टिप्पणी छ । मानव विकास सूचकांकअनुसार यस प्रदेशमा २२.५३ प्रतिशत मानिस गरिब छन् । विवाहमा हुने दाइजोको ‘क्यास’ कारोबारले यस प्रदेशको गरिबीलाई झन् बढाउने अभियन्ताहरू बताउँछन् । मधेसमा हुने दाइजो विवाहको सुरुवात बडो रोचक छ । केटाको रोजाइ पसलमा वस्तु खरिदका लागि गरिने मोलतोल जस्तै हुन्छ । फलानाको छोरा डाक्टर पढेको छर म गर्ने कुराले महŒव राख्थ्यो । तर कर्मशीलतालाई पुँजीले छोप्दै गएपछि दहेज कुप्रथाका रूपमा समाजमा जरा गाड्दै गयो ।’
मिथिला संस्कृति जानकारका अनुसार मधेसमा दहेज भित्रिएको मैथिली ब्राह्मण र कायस्थ समुदायबाट हो । यी समुदायका महिला बाहिर काम गर्न जाँदैनथे । जसकारण यी समुदायका महिला पुरुषमाथि निर्भर थिए । पुरुषमाथि निर्भरताका कारण केटी पक्षका अभिभावकले मेरी छोरी सुखी घरमा रहोस् भनेर जब केन्द्रित हुन थाले, केटाको भाउ बढ्न थाल्यो । ब्राह्मण र कायस्थ समुदायका केटी पक्षका अभिभावकले मालिक, महाजन, हाकिमको घर ताकेर छोरी दिने परम्परा सुरु गरेपछि केटाको भाउ बढेको जानकारहरू बताउँछन् । यस समुदायमा हाकिम, मालिक र महाजन वरका लागि (बेहुला) केटी पक्षले विवाहमा खुबै लेनदेन गरेको देखेपछि अरू जातमा पनि यो कुप्रथा सर्दै गएको पाइन्छ ।
यसरी विकृत हुँदै गयो विवाह सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण र कायस्थ समाजमा विवाहको एउटा अद्भूत एवं रोमाञ्चकारी परम्परा सुरुवात भयो, जहाँ बेहुलाको प्रदर्शनी हुन्छ। मिथिलाञ्चलअन्तर्गत बिहार राज्यको मधुवनी जिल्लास्थित सौराठ गाउँमा वैवाहिक सभा आयोजना हुँदै आएको छ । इतिहासकारहरू सौराठ सभाको सुरुवात १४औं शताब्दीमा कर्नाट वंशीय राजा हरिसिंह देवले सुरुवात गरेको ठान्छन् । राजा हरिसिंह देवको शासनकालमा विद्वान्बीच शास्त्रार्थ हुन्थ्यो । यसमा विजयी विद्वान्लाई पुरस्कृत गरिन्थ्यो । सन् १३२६ मा राजा हरिसिंह देवले अविवाहित मैथिल ब्राह्मण युवकबीच शास्त्रार्थ गराएका थिए । लामो समयसम्म तर्कवितर्क चलिरह्यो र त्यसमा वेद, वेदान्त, योग र न्यायजस्ता विषय उठेका थिए । राजा हरिसिंह देवले ब्राह्मण युवकको विद्वता देखेर प्रभावित भए र अनौठो तरिकाले ती युवकलाई पुरस्कृत गरे। यद्यपि शास्त्रार्थमा भाग लिने युवक अविवाहित भएकाले पुरस्कारस्वरूप उनीहरूलाई एकएक सुन्दर बेहुली विवाह गर्ने मौका दिए ।
भनिन्छ, त्यसपछि यसको आयोजना प्रत्येक वर्ष हुन थाल्यो । पहिले मैथिल ब्राह्मण युवकको सभा हुने गथ्र्याे । यसमा उनीहरूबीच शास्त्रार्थ हुन्थ्यो र बेहुली पक्ष आÇनी छोरीका लागि योग्य बेहुलाको खोजी गर्न त्यहाँ भेला हुन्थे । यसले मैथिली समाजमा बसालिदिएको शिक्षाका आधारमा वर चुन्ने परम्परापछि विकृत बन्यो । छोरीको विवाहका लागि एउटै केटामाथि धेरैले दाबी गर्न थालेपछि लेनदेनले प्रवेश पायो । र, दाइजो प्रथा यहीँबाट सुरु भएको जानकारहरू बताउँछन् । ‘एउटै केटामाथि धेरैको आँखा परेपछि ‘डाक बढाबढ’ हुन थाल्यो,’ सहप्राध्यापक झाले भने, ‘पछिल्लो समय मधेसी समाजमा देखिएको दहेजरूपी प्रथा यसैको दुष्परिणाम हो ।’ मधेसी समाजमा छोरीलाई ‘पराया धन’ भन्ने गरिन्छ । यो मान्यताका कारण छोरीलाई धेरै पढाउनेभन्दा छिट्टै विवाह गरिदिनु यहाँ उचित ठानिन्छ । ‘छोरी दिन्छु, तर दाइजो दिन्नँ’ भन्ने अभिभावक बिरलै भेटिन्छन् । ‘दाइजो होइन, गुणी बुहारी’ चाहिन्छ भन्ने अभिभावक पनि दुर्लभ छन् मधेसमा ।




