लगडीगोठ र जोगियाको ‘सीमाञ्चल सम्बन्ध


मिथिलेश यादव

सिरहा, ८ पुस । भारतीय गाउँ जोगिया र सिरहा नगरपालिका–२१ लगडीगोठको सिमाना मैनावती खोला हो। सीमावारिपारिका बासिन्दा फरकफरक देशका नागरिक हुन्। एउटा खोलाले छुट्टिएको तर नजिकका गाउँ, समान परिवेश र साझा संस्कृतिका कारण एउटै परिवारका सदस्यझैं मेलजोलका साथ उनीहरू बसेका छन्। उनीहरूले एकअर्कालाई सधैं सक्दो मद्दत गर्छन्।

दसगजापारि जोगियामा यादव समुदायको बाक्लो बसोबास छ। राम, पासवान, मण्डल, साफी समुदाय पनि मिलेर बसेको बस्ती हो, जोगिया। वारि लगडीगोठतर्फ मण्डल समुदायको सघन बास छ। ‘पारि आवश्यक पर्दा वारिबाट सहयोगी हात जुट्छन, वारि आवश्यक पर्दा पारिबाट,’ सिरहा–२१ का वडाध्यक्ष सुरेन्द्र मण्डलले भने, ‘वारि विवाह हुँदा पारिका मानिस भोज खान जुट्छन्, पारि हुँदा वारिका।’आफूहरूबीच दुई देशका नागरिक हौं भन्ने ख्यालै नआउने उनले बताए। ‘हिँडडुल गर्दा पनि हामी सीमा बिर्सन्छौं,’ उनले भने।

जोगियाका बौएलाल राम र लगडीगोठका चन्देश्वर मण्डलबीच पनि उस्तै सीमाविहीन सद्भाव छ। बौएलाल खेतीकिसानी गर्छन् र चन्देश्वर पनि किसान हुन्। उनीहरू भैंसी चराइरहँदा सीमा नै भुलेर कहिले वारि पुग्छन् त कहिले पारि। देश अलगअलग भए पनि श्रमसंस्कार, रीतिरिवाज र भाषाभेषमा भिन्नता नभएको लगडीगोठका झमन यादवले बताए।

श्रमसंस्कारसँगै वैवाहिक सम्बन्धले गर्दा हामी झनै नजिकिएका छौं,’ उनले भने, ‘मेरो विवाह पारिपट्टि भएको हो। मेरा भान्जी र बहिनीको विवाह पनि उतै भएको हो। म ससुराली र सम्धीघर गइरहन्छु। सम्धी र सालाहरू पनि आइरहनुहुन्छ। दोहोरो आउजाउले सम्बन्ध झन् कसिलो भएको छ।’ पारिपट्टिको गाउँ जोगियाका केही व्यक्तिले लगडीगोठमा खेत किनेका छन्। नाताकुटुम्ब वारि भएकाले उनीहरूलाई खेत किन्न झमेला हुँदैन।

वारिपट्टि सस्तोमा बढी जमिन पाइने हुँदा पारिका बासिन्दाले आफ्ना नाताकुटुम्बका नाममा नेपालतर्फ जग्गा किन्छन्। बौएलालले भने, ‘नेपालको दस कट्ठा जमिन भारतमा २० कट्ठा हुन्छ।’ एक खालकै जीवनशैली रहे पनि दुवै देशका नागरिकले आफ्नो सरकारबाट पाउने सेवासुविधा भने आकाश–जमिनको फरक छ। बौएलाल परिवारले सरकारबाट आवास सुविधाबापत १ लाख २० हजार भारतीय रूपैयाँ पाएको छ।

छोरीचेलीलाई सजिलो गरी लेखपढ गराउने सुविधा छ। बच्चीहरूलाई विद्यालय जानआउन साइकल दिइएको छ। पोसाक, खाजा, स्टेसनरीलगायत सुविधासँगै पढाइ पनि भरपर्दो भएको बौएलालले बताए।

विकासको पर्खाइ मिल्दाजुल्दा रहनसहन र देशपार विवाहका कारण दसगजाको दुवैतर्फका बासिन्दाबीच अटुट सम्बन्ध छ। यससँगै दुवैतर्फका बासिन्दाको अपेक्षा पनि समान छ। त्यो हो– विकास। दुवैतर्फ पूर्वाधार विकासको स्थिति उस्तै छ। शिक्षा तथा स्वास्थ्य सेवामा जनताको पहुँच कमजोर छ। आधारभूत सुविधायुक्त अस्पताल दुवैतर्फ छैनन्। सीमावारिपारि कतै पनि स्तरीय विद्यालय छैन। जनताको आर्थिक अवस्था र जीविकोपार्जनका आधारमा पनि खासै भिन्नता छैन।

सीमा नदी मैनावत्ती दुवैतर्फका जनताको साझा समस्या हो। बर्खामा यो खोलामा बाढी आउँदा दुईतर्फी आवगमन रोकिन्छ। बाढीका बेला लगडीगोठका स्थानीयले यो खोलामा अस्थायी पुल बनाएर आउजाउ गर्छन्। बर्खायाममा यही पुलले दुवैतर्फका बासिन्दाबीचको सम्बन्ध धानिएको हुन्छ। जोगिया हुँदै किनमेलका लागि भारतीय बजार जयनगर जाने नेपाली उपभोक्ताले दैनिक लाखौं रूपैयाँबराबरको कारोबार गर्ने गर्छन्।

लगडीगोठका मात्रै नभएर यस भेगका एक दर्जन गाउँका उपभोक्ता किनमेलका लागि जयनगर जान मैनावती खोला तर्नुपर्छ। बर्खा र हिउँद दुवै समयमा यस भेगका नागरिक ओहोरदोहोर गर्ने भनेको बाँसको अस्थायी पुलबाटै हो। बर्सेनि असारमा नयाँ बाँस हालेर पुल मर्मत गर्नुपर्ने स्थानीय बताउँछन्।

चुनावका बेला नेताहरूले स्थानीयलाई यो खोलामा पक्की पुल बनाइदिने लोभ देखाएर भोट बटुल्ने गरे पनि जितेर गएपछि आफ्नो वाचा बिर्सिदिने गरेको स्थानीयको गुनासो छ। सीमा क्षेत्रको यो पुल निर्माणका लागि दुवैमध्ये कुनै पनि देशले गम्भीरता देखाएको छैन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको