सिरहा, २७ कार्तिक। सिरहाका एक सामुदायिक आधारभुत विद्यालय पठन–पाठन गराउने पवित्रस्थान भन्दापनि शिक्षकहरुको जाखिर खाने ठाउँ बनेको छ । धनगढीमाई नगरपालिका १ बाखैरस्थित जनता आधारभुत विद्यालयमा ७ जना शिक्षक कर्मचारी छन् । विद्यार्थीको संख्यापनि झण्डै उस्तै छ । विहिवार विहान करिव ११ बजे हामी विद्यालय पुग्दा केही विद्यार्थी चौरमा टकली रहेका थिए । हामीलाई देखेर उनिहरु कक्षा कोठामा पसे । उनीहरुलाई पछ्याँदै हामीपनि कक्षा कोठामा पुग्यौं, कक्षा कोठामा जम्मा १० जना विद्यार्थी थिए ।
कक्षा कोठामा पहिलादेखि ४–५ जना विद्यार्थी र दुई जना शिक्षिकाहरु गफिएर बसेका थिए । हामीलाई देखेपछि शिक्षिकाहरु जर्याक जुरुक उठे। त्यतिवेलासम्म सवै विद्यार्थी भुईंमा ओछ्याएको धुलाम्मे कार्पेटमा बसिसकेका केथिए । भित्र पसेपछि हामीले सोध्यौं यो कति कक्षा हो? प्रधानाध्यापक द्रोपदी कुमारी साहलेभने, १ देखि ५ कक्षा सम्मको। जम्मा यति? फेरी प्रश्न ग¥यौ । उनले भने, हो ।
हामीले पालैपालो सोध्दा त्यसमध्ये एक कक्षामा २, दुई कक्षाका ३, तीन कक्षाका ३ र चार कक्षाका २ जना विद्यार्थी रहेछ । पाँच कक्षाका विद्यार्थी एक जना पनि थिएनन् । रोचक विषयत के भने विहिवार झन धेरै विद्यार्थी जम्मा भएका रहेछन् । अन्यथा ३–४ जना विद्यार्थी आउँथे । एक स्थानीय युवकले भने । उनले सुनाए, ‘यहाँ आजै होला यतिको विद्यार्थी जम्मा भएको अन्य दिन त, ४–५ जना विद्यार्थी आउँथे। शिक्षक शिक्षिक १२–१ बजेसम्म गफियर बस्थे र पालै पालो घरतिर लाग्थे, कसरी यतिको विद्यार्थी जम्मा भएछन् ।’
विद्यार्थी हाजिरी रजिष्टरमा भने ७५ जना विद्यार्थी देखिन्छ । त्यस बापत राज्यबाट सवैखालको सेवा सुविधा लिने गरेको छ । विद्यालयमा एक स्थाई, दुई राहत,एक जना निजी स्रोत, २ जना बाल विकास र एक जना कार्यालय सहयोग रहेका छन् । एकै परिवारका चार जना शिक्षक भएकाले यहाँ उनीहको एकलौटी चल्ने गरेको स्थानीय अभिभावको भनाई रहेको छ । प्रधानाध्यापक साहकै परीवारका यहाँ जम्मा ४ जना कर्मचारी छन् । उनीहरु आÇनो राजी खुसीले विद्यालय चलाई रहेका छन्, ती अभिभावकले भने ।
प्रधानाध्यापक साहले भने यहाँ पढ्ने धेरै दलित समुदायको बच्चा भएकाले अहिले धानकाट्ने समय भएकाले अभिभावकसँगै जाने गरेकाले विद्यार्थीसंख्या कम भएको बताउँछन् । पाँच कक्षासम्म पढाई हुने यस विद्यालयमा पठन पाठनको नियमितता र गुणस्तर नभएकाले विद्यार्र्थीहरु कम आउने गरेको स्थानीय अभिभावक बताउँछन् । विद्यालयमा पानी र शौचालयको उचित प्रवन्ध नहुँदा पनि विद्यार्थीसँख्या घटेको अभिभावकको भनाई छ । शिक्षक, कक्षा कोठा हुँदाहुँदै पनि सवै विद्यार्थीलाई एउटै कक्षा कोठामा राख्ने र शिक्षहरु पालैपालो घुमेर तलव खानेगरेको स्थानीयको आरोप छ ।




