सुरेन्द्रकुमार कामती
सिरहा, २६ कार्तिक । जिल्ला कारागार सिरहामा ‘नाइके’ को विषयमा निरन्तर झडप र कुटपिट हुँदै आइरहेको छ । कारागारमा रहेको कामचलाउ नाइकेको समूहको निर्देशनमा चारजना मिलेर सिरहाको मिर्चैया नगरपालिका– ८ का ३९ वर्षीय परमेश्वर सदा र महोत्तरीको रामगोपालपुर नगरपालिका– ८ का बद्री मण्डललाई कुटपिट गरिएको छ । उनीहरूलाई शनिबार राति कुटपिट गरी गम्भीर घाइते बनाएको छ । प्लास्टिकको पाइप र भाटाले कुटपिट गर्दा कैदीबन्दी सदाको पिठ्युँ र संवेदनशील अंगमा गम्भीर चोट लागेको छ । घाइते सदालाई उपचार गराउन सोमबार दिउँसो प्रादेशिक अस्पताल सिरहामा उपचार गराउन भर्ना गरिएको थियो । हतकडी लगाएर नै प्रादेशिक अस्पताल सिरहाको आकस्मिक कक्षमा उपचार भइरहेको कैदीबन्दी सदाको सुविधासम्पन्न अस्पताल लैजान कारागार प्रशासनलाई उपचारमा संलग्न चिकित्सक राकेश यादवले सुझाब दिएको बताएका छन् । अर्का कैदीबन्दी मण्डल सामान्य घाइते भएका छन् । मण्डललाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ । सदा कर्तव्य ज्यान र मण्डल चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका छन् ।
यसअघि ०८२ साउत ४ मा कारागारभित्र दुई समूहबिच झडप भएको थियो । चौकीदार सरुवाको विषयमा झडप हुँदा तत्कालीन चौकीदार विजय महतोसहित १३ जना घाइते भएका थिए । दाउराको चिर्पट प्रयोग गरी एक–अर्कामाथि आक्रमण गरेपछि १३ जनाको टाउको फुटेको थियो ।
सुरक्षा संयन्त्रको अनुगमन
कारागारका कैदीबन्दी कुटपिटको पछिल्लो घटनापछि जिल्लाका सुरक्षा निकायका पदाधिकारीहरूले कारागारको निरीक्षण गरेका छन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले संयुक्त रूपमा कारागारको निरीक्षण गरेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएको र घटनाहरू फाटफुट रूपमा विगतदेखि नै हुँदै आएको सिरहाका प्रमुख जिल्ला अधिकारीले कारागार निरीक्षण गरेपछि संचारकर्मीलाई बताए । के कारणले कारागारभित्र कुटपिट गरेको विषयमा अनुसन्धान भइरहेको र कुटपिट गर्ने चारजनालाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रजिअ पौडेलले बताए । सुरक्षा अधिकारीहरूले पटकपटक कारागारको अनुगमन गरे पनि कारागारभित्र अवैध गतिविधि हुने गरेको र कमजोर कैदीबन्दीमाथि कुटपिट पनि हुने गरेको स्रोतले छ । कारागारमा हुने आम्दानीको विषयले नै मुख्य रूपमा विवाद हुने गरेको र त्यसले झडप, कुटपिटको अवस्था सिर्जना हुने गरेको कारागार स्रोतले बताएको छ ।
छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन
जिल्ला कारागार सिरहामा सेटिङकै आधारमा मदिरा र लागुऔषधको पहुँच कैदीबन्दीलाई भइरहेको विषय एक वर्षअघि सार्वजनिक भएको थियो । एक वर्षअघि ०८१ कात्तिक २५ मा कारागारभित्र मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गरेको सम्बन्धमा अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । इलाका प्रहरी कार्यालय लहानका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको र सो समितिले डेढ महिनाको समय लगाएर ९० पृष्ठको प्रतिवेदन जिल्ला सुरक्षा समितिलाई बुझाएको थियो । प्रतिवेदन बुझाए पनि अझै सार्वजनिक गरिएको छैन। सिराहाका प्रमुख जिल्ला अधिकारी पौडेलले अब प्रतिवेदन कार्यान्वयन हुने बताएका छन् ।
जीर्ण कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
०२८ सालमा निर्माण गरिएको जिल्ला कारागार सिरहाको भवन जीर्ण भएको छ । भवन जीर्ण भए पनि कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेका छन् । कारागारको क्षमता १५ महिला र १३५ पुरुष गरी १५० जनाको क्षमता भए पनि तीन गुणा बढी अर्थात् ४५९ जना कैदीबन्दी रहेको कारागार प्रमुख सुबोध महतोले बताए ।




